
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको संस्थागत शक्ति कानूनले प्रदान गरेको अधिकारमा मात्र सीमित नभई नागरिकको विश्वास र भरोसामा आधारित हुने बताएका छन्। प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि गर्न निष्पक्षता, पारदर्शिता, व्यावसायिकता र जवाफदेहितालाई कार्यसम्पादनको आधार बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीअनुसार नेपाल प्रहरीको कार्यशैली, प्रविधिको प्रयोग र सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताए।
उनले साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौतीको प्रभावकारी सामना गर्न प्रहरी संगठनलाई थप सक्षम, सुदृढ र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए। सूचना प्रविधि, डिजिटल प्रणाली तथा कृत्रिम बौद्धिकताको प्रयोगलाई मानवअधिकार, कानूनी प्रक्रिया र व्यावसायिक विवेकसँग सन्तुलित रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
महानिरीक्षक कार्कीले प्रविधिको प्रयोगले प्रहरीको कार्यक्षमता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने भए पनि त्यसको उपयोग गर्दा नागरिकको अधिकार, गोपनीयता र कानूनी मर्यादाको पूर्ण पालना हुनुपर्नेमा जोड दिए। आधुनिक सुरक्षा चुनौतीको सामना गर्न प्रविधिसँगै प्रहरी कर्मचारीको व्यावसायिक दक्षता र जिम्मेवारीबोधसमेत सुदृढ हुनुपर्ने उनले बताए।
कानून कार्यान्वयनका क्रममा कुनै पनि प्रहरी कर्मचारी व्यक्तिगत आग्रह, बाह्य प्रभाव वा अनुचित दबाबबाट प्रभावित हुन नहुने उल्लेख गर्दै उनले संविधान र प्रचलित कानूनप्रतिको प्रतिबद्धता प्रहरी सेवाको आधारभूत मान्यता भएको स्पष्ट पारे।
उनका अनुसार कानून कार्यान्वयन गर्नु मात्र पर्याप्त हुँदैन, त्यसको प्रक्रिया पनि निष्पक्ष, पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्छ। नागरिकले प्रहरीको निर्णयप्रति असहमति जनाए पनि त्यसको निष्पक्षता र प्रक्रियागत न्यायप्रति विश्वास कायम रहने वातावरण निर्माण गर्नु प्रहरीको दायित्व भएको उनले बताए।
विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा थप जिम्मेवार र संवेदनशील भएर काम गर्न महानिरीक्षक कार्कीले निर्देशन दिए। यस्ता घटनाको अनुसन्धान तथा सेवा प्रवाहमा पीडितकेन्द्रित दृष्टिकोण, गोपनीयताको संरक्षण र मानवीय व्यवहारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
‘प्रहरीको शक्ति कानूनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ,’ महानिरीक्षक कार्कीले भने, ‘नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ।’
उनले नेपाल प्रहरीलाई संविधान र प्रचलित कानूनप्रति प्रतिबद्ध, निष्पक्ष, व्यावसायिक तथा नागरिकप्रति उत्तरदायी संगठनका रूपमा विकास गर्न निरन्तर प्रयास भइरहेको बताए। बदलिँदो परिस्थितिमा नागरिकको अपेक्षाअनुसार प्रहरी सेवाको गुणस्तर सुधार गर्दै संगठनप्रतिको भरोसा थप मजबुत बनाउनुपर्ने उनको भनाइ थियो।
दीक्षान्त समारोहमा आधारभूत व्यावसायिक तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले सेवाको प्रारम्भदेखि नै अनुशासन, इमानदारी, निष्पक्षता र नागरिकप्रतिको सम्मानलाई उच्च प्राथमिकता दिन निर्देशन दिए। प्रहरी संगठनलाई नागरिकको सहयोगी, सुरक्षाको प्रत्याभूति दिलाउने र विश्वासयोग्य संस्थाका रूपमा स्थापित गर्न प्रत्येक प्रहरी कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे