
काठमाडौं । मौसम तथा बाढी पूर्वानुमानसम्बन्धी सूचना समुदायसम्म समयमै पुर्याउँदै जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको विभागले चालु आर्थिक वर्षमा विनियोजित बजेटको ठूलो हिस्सा खर्च गरेको छ।
विभाग र मातहतका आठ कार्यालयका लागि आ.ब २०८१/८२ मा कुल ५७ करोड ५७ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसमध्ये चालुतर्फ २२ करोड ८७ लाख ५७ हजार रुपैयाँ र पुँजीगततर्फ २२ करोड ३९ लाख ५३ हजार रुपैयाँ खर्च भएको थियो।
विभागले चालु र पुँजीगत दुवैतर्फ गरी आ.ब २०८१/८२ सम्म कुल ४५ करोड २७ लाख १० हजार रुपैयाँ खर्च गरेको देखिएको छ।
बाढीको पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्ने कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्दा प्रभावित समुदायले समयमै बाढीसम्बन्धी सूचना प्राप्त गर्न नसकेको देखिएको छ।
विभाग र एक आपूर्तिकर्ताबीच बाढी पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणालीको डिजाइन, आपूर्ति र स्थापना गर्ने कार्य तीन वर्षभित्र, अर्थात् २०८२ वैशाख १८ गतेसम्म सम्पन्न गर्ने गरी ६ करोड ९६ लाख रुपैयाँमा सम्झौता भएको थियो। तर तोकिएको अवधिभित्र काम सम्पन्न हुन नसकेपछि पहिलो पटक २०८३ असोज १५ गतेसम्मका लागि म्याद थप गरिएको देखिएको छ।
सम्बन्धित कार्यको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत मात्र रहेको छ। प्रणाली समयमै स्थापना तथा सञ्चालन हुन नसक्दा बाढीको पूर्वानुमान तथा प्रारम्भिक चेतावनीसम्बन्धी सूचना जोखिममा रहेका तथा प्रभावित समुदायसम्म प्रभावकारी रूपमा पुर्याउन नसकिएको उल्लेख गरिएको छ।
बाढीको जोखिम न्यूनीकरण तथा सम्भावित क्षति कम गर्न यस्तो प्रणालीको समयमै स्थापना र सञ्चालन महत्वपूर्ण हुने भएकाले खरिदसम्बन्धी कानुन तथा सम्झौतामा तोकिएका सर्तबमोजिम कार्य सम्पन्न गराउनुपर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे