
काठमाडौं । नेपालले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको आवश्यकता र औचित्यका आधारमा नियमित पुनरावलोकन, परिमार्जन तथा नवीकरण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ।
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले विदेशमा नेपालको प्रतिनिधित्व तथा विदेशी राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थासँगको सम्बन्धसम्बन्धी विषयलाई परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रभित्र राखेको छ। सोहीअनुसार मन्त्रालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा सन्धि–सम्झौताको व्यवस्थापन र कार्यान्वयनसम्बन्धी कार्य गर्दै आएको छ।
मन्त्रालयले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरेको प्रगति प्रतिवेदनअनुसार नेपालले छिमेकीलगायत मित्र राष्ट्रहरूसँग ४१२ वटा द्विपक्षीय सम्झौता गरेको छ। त्यस्तै, क्षेत्रीय संघसंस्था तथा अन्य अन्तर्राष्ट्रिय निकायसँग २४३ वटा बहुपक्षीय सम्झौता गरी कुल ६५५ वटा सन्धि–सम्झौता भएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार चालु वर्षमा ५५ वटा सन्धि–सम्झौता सम्पन्न वा परिमार्जन गरिएको छ। बाँकी ६०० वटा सन्धि–सम्झौतामध्ये पुराना तथा म्याद सकिएका सम्झौतालाई आवश्यकता र औचित्यका आधारमा नेपाल सरकारको निर्णयअनुसार पुनरावलोकन, परिमार्जन वा नवीकरण गरी कार्यान्वयनमा ल्याउनुपर्ने देखिएको छ।
सम्बन्धित निकायले तोकिएको प्रक्रिया र व्यवस्थाअनुसार सन्धि–सम्झौताको अवस्था अध्ययन गरी आवश्यकताअनुसार पुनरावलोकन तथा परिमार्जन गर्नुपर्ने देखिन्छ। यसबाट पुराना तथा निष्क्रिय सम्झौतालाई अद्यावधिक गर्दै नेपालको राष्ट्रिय हित र आवश्यकताअनुकूल अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे