
काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच नियमित भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा मंगलबार भएको भेटमा मुलुकको समग्र शान्ति–सुरक्षाको अवस्था, पछिल्ला सुरक्षा चुनौती तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शाह र प्रधानसेनापति सिग्देलबीच भएको यो चौथो नियमित भेट हो। प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका छन्, जसका कारण राष्ट्रिय सुरक्षा र नेपाली सेनासँग सम्बन्धित विषयमा नियमित समन्वय भइरहेको छ।
भेटवार्तामा मुलुकको सुरक्षा अवस्थाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने, विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक तयारी तथा विभिन्न सुरक्षा निकायबीच समन्वयलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ।
यसअघि सुनसरी र मधेश प्रदेशका केही क्षेत्रमा देखिएको समुदायस्तरीय तनावको अवस्थालाई मध्यनजर गर्दै साउन १४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। उक्त बैठकले देशको सुरक्षा अवस्थाबारे समीक्षा गर्दै आवश्यक तयारी र समन्वयका विषयमा समेत छलफल गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे