
काठमाडौं । ताप्लेजुङदेखि दार्चुलासम्म उच्च पहाडी तथा हिमाली क्षेत्र हुँदै जाने ग्रेट हिमालयन ट्रेलको निर्माण गुरुयोजनाबिनै अघि बढाइएको पाइएको छ। पर्यटन विभागबाट प्राप्त विवरणअनुसार हालसम्म यस पदमार्ग निर्माणमा १ अर्ब ३ करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ।
नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२५) अन्तर्गतको पाँचवर्षे रणनीतिक कार्ययोजनाले ग्रेट हिमालयन ट्रेलको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको थियो। उक्त योजनाअनुसार आर्थिक वर्ष २०७९/८० सम्म ट्रेलको लम्बाइ ४१५ किलोमिटर र आर्थिक वर्ष २०८१/८२ सम्म ५१५ किलोमिटर पुर्याउने लक्ष्य निर्धारण गरिएको थियो।
तर, विभागबाट प्राप्त तथ्याङ्कले निर्धारित लक्ष्यभन्दा बढी पदमार्ग निर्माण भएको देखाएको छ। हालसम्म विभिन्न चरणमा गरी कुल ६४० किलोमिटर ग्रेट हिमालयन ट्रेल निर्माण भएको र यसका लागि १ अर्ब ३ करोड ८० लाख रुपैयाँ खर्च भएको विभागको विवरणमा उल्लेख छ। आ.ब २०८१/८२ वर्षमा मात्रै यस आयोजनाका लागि ३ करोड ८० लाख रुपैयाँ खर्च भएको थियो।
आ.ब २०८१/८२ मा ग्रेट हिमालयन ट्रेलअन्तर्गत १० वटा क्लस्टरमा ५०० किलोमिटर पदमार्गको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, विनियोजित बजेटअनुसार सम्भाव्यता अध्ययनसम्बन्धी काम भने भएको देखिएको छैन।
त्यस्तै, पर्यटन विभागले गुरुयोजना तयार नगरी वर्षेनी विभिन्न क्षेत्रमा ट्रेल निर्माण गर्दै आएको भए पनि निर्माणको समग्र प्रगति र उपलब्धिको एकीकृत विवरणसमेत तयार गरेको थिएन। यसले ठूलो रकम खर्च भइसकेको आयोजनाको समग्र अवस्था, उपलब्धि र लक्ष्यअनुसारको प्रगति मूल्याङ्कनमा समस्या देखिएको थियो।
दीर्घकालीन पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्य राखिएको ग्रेट हिमालयन ट्रेलमा गुरुयोजना, सम्भाव्यता अध्ययन र समग्र प्रगति विवरणबिना छुट्टाछुट्टै रूपमा निर्माण कार्य अघि बढाउँदा लगानीको प्रभावकारिता तथा निर्माणको एकरूपतामाथि प्रश्न उठेको छ। ट्रेलको दीर्घकालीन उपयोग, पहुँच र पर्यटन प्रवर्द्धन सुनिश्चित गर्न आवश्यक अध्ययन तथा गुरुयोजनाका आधारमा निर्माण कार्य अघि बढाउनुपर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे