
ठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति काठमाडौं उपत्यकाका नागरिकहरूले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरो तथा हिमताल विस्फोटपछि आएको बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउन उपत्यकावासीले आइतबार बिहान काठमाडौंमा सामूहिक र्याली आयोजना गरेका हुन्। र्यालीमा सहभागी नागरिकहरूले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्न माग गरेका छन्।
बेपत्ताको खोजीका लागि उपलब्ध अधिकतम स्रोतसाधन र जनशक्ति परिचालन गर्नुका साथै आधुनिक प्राविधिक तथा वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचानमा जटिलता देखिएको भन्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरणमा विशेष ध्यान दिन राज्यको ध्यानाकर्षण गराएको छ।
शव पहिचानका लागि डीएनएलगायत जैविक नमुना सुरक्षित राख्न तथा सम्भावित परिवारजनबाट नमुना संकलन गरी आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। पहिचान भएका शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियालाई मानवीय संवेदनशीलता कायम राख्दै सरल र सहज बनाउनसमेत नागरिक समूहले माग गरेको छ।
विपद्को कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको नागरिकहरूले उच्च प्रशंसा गरेका छन्। उनीहरूले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गरेका छन्।
नागरिकहरूले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्। आवास तथा जीविकोपार्जन गुमाएका नागरिकको पुनःस्थापनामा विशेष ध्यान दिन आग्रह गर्दै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् तथा सञ्चारजस्ता आधारभूत पूर्वाधारको पुनर्निर्माण यथाशीघ्र अघि बढाउन माग गरिएको छ।
पुनर्निर्माणका क्रममा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता तथा भविष्यमा आउन सक्ने विपद्को जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि नागरिकहरूले जोड दिएका छन्।
उपत्यकाका नागरिकहरूले विपद्बाट उत्पन्न शोकलाई सहयोग र सामूहिक शक्तिमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायसँग निरन्तर ऐक्यबद्धता रहने बताएका छन्। कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्नु मानवीय दायित्वसँगै नेपाली पहिचानको आधार भएको उल्लेख गर्दै उनीहरूले सुरक्षित र विपद् उत्थानशील नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे