
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमार्फत नामावली प्रकाशन गर्दै नाम, थर, जन्ममितिलगायत विवरणमा त्रुटि भए सच्याउन तथा अयोग्य व्यक्तिको नाम हटाउन दाबी–विरोध र निवेदन दिन असोज १२ गतेसम्मको समय दिएको हो।
आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको छ। नामावलीमा आफ्नो व्यक्तिगत विवरण गलत भए सम्बन्धित मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिएर सच्याउन सक्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था रहेकाले मतदाताले तोकिएको अवधिभित्र आफ्नो विवरण अनिवार्य रूपमा जाँच गर्नुपर्ने आयोगले जनाएको छ। आयोगले असोज १ देखि १२ गतेसम्म वेबसाइटमा आफ्नो नाम तथा विवरण हेरी त्रुटि भेटिए समयमै सच्याउन निवेदन दिन आग्रह गरेको छ।
आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि हाल दुईवटा विधि प्रयोग गरिरहेको छ। राष्ट्रिय परिचयपत्रमा आबद्ध भइसकेका मतदाताले अनलाइन प्रणालीमार्फत आफ्नो तस्बिर तथा जैविक विवरण उपलब्ध गराउन सक्ने व्यवस्था छ। राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
आयोगका अनुसार प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरिएको अवधि व्यक्तिगत विवरण सच्याउनेसँगै नामावली शुद्धीकरणका लागि समेत महत्वपूर्ण हुनेछ। मतदाता हुन कानुनी योग्यता नपुगेका व्यक्तिको नाम समावेश भएको, नागरिकता त्याग गरिसकेको व्यक्ति नामावलीमा कायम रहेको वा अन्य कारणले नाम हटाउनुपर्ने अवस्था भएमा समेत सोही अवधिभित्र उजुरी वा निवेदन दिन सकिनेछ।
सूचना अधिकारी घिमिरेका अनुसार प्रारम्भिक नामावलीमा दाबी–विरोध तथा सच्याउने अवसर प्रदान गर्नुको उद्देश्य मतदाता नामावलीलाई थप पारदर्शी र त्रुटिरहित बनाउनु हो। तोकिएको अवधिभित्र प्राप्त हुने निवेदन, उजुरी तथा दाबी–विरोधमाथि आवश्यक छानबिन गरेपछि आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे