
काठमाडौं । बूढीगण्डकी नदीमा पानीको बहाव जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा बाढीको खतरा बढेको छ। बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार बूढीगण्डकीमा बढेको जलसतहका कारण विशेषगरी बेनीघाट क्षेत्र अति उच्च जोखिममा परेको छ। सम्भावित बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न त्यस क्षेत्रका बासिन्दालाई तत्काल नदी किनार छाडेर सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ।
त्यस्तै, चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यमस्तरको बाढी जोखिम रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रका बासिन्दालाई नदीको बहाव र जलसतहको अवस्थाबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
बाढीसम्बन्धी अद्यावधिक सूचना तथा थप जानकारीका लागि ‘नेपाल बाढी सूचना’ फेसबुक पेज हेर्न वा निःशुल्क टेलिफोन नम्बर ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे