
काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित बनेको अवस्थामा राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराइएको सिटी एक्सप्रेसले जनाएको छ।
यसैबीच, सिटी एक्सप्रेस मनी ट्रान्सफरले बाढी प्रभावित परिवारलाई विदेशबाट सहज रूपमा आर्थिक सहयोग उपलब्ध गराउन विप्रेषण शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत गरेको जनाएको छ। बाढी आएको दिनदेखि नै लागू हुने गरी विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस व्यवस्थाबाट विदेशमा रहेका नेपालीले विपद्बाट प्रभावित आफ्ना परिवार तथा आफन्तलाई थप सहज, छिटो र पूर्ण रकम पठाउन सक्नेछन्।
सिटी एक्सप्रेस ग्रुपले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को कठिन परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले विप्रेषण सेवामार्फत विदेशमा रहेका नेपाली र नेपालमा रहेका परिवारबीच आर्थिक सम्बन्ध सहज बनाउँदै आएको दाबी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे