
काठमाडौँ । सुनसरीको देवागञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको विवाद हिंसात्मक बन्दै गएपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा समेत परेको छ। सुरक्षा अवस्था संवेदनशील बनेपछि सिरहा, धनुषा, पर्सा र सप्तरीमा जारी कर्फ्यु आदेशलाई आज पनि निरन्तरता दिइएको छ।
धार्मिक तथा साम्प्रदायिक तनाव बढ्दै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा कर्फ्यु आदेश जारी गरेका थिए। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै ती जिल्लामा कर्फ्यु यथावत् राख्ने निर्णय गरिएको हो।
सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनापछि विभिन्न स्थानमा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना भएका छन्। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। सुरक्षा स्रोतका अनुसार घाइते हुनेमा नेपाल प्रहरीका दुई जना प्रहरी नायब उपरीक्षकसहित २२ जना प्रहरी कर्मचारीसमेत रहेका छन्।
हिंसात्मक गतिविधि नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उच्च सतर्कतासहित परिचालन गरिएको छ। सुरक्षा निकायले गस्तीसमेत बढाएका छन् भने स्थानीय प्रशासनले अवस्थाको निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न, सामाजिक सञ्जालमा उत्तेजनात्मक सामग्री प्रसार नगर्न र कुनै शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
स्थानीय प्रशासनका अनुसार शान्ति–सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म कर्फ्यु आदेश कायम रहनेछ। सुरक्षा अवस्थाको थप मूल्याङ्कनपछि मात्र कर्फ्यु हटाउने वा अन्य निर्णय गर्ने तयारी गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे