
काठमाडौँ । बाढी–पहिरोका कारण अवरुद्ध नेपाल–चीन सीमा जोड्ने केरुङ नाकातर्फको चीनस्थित जी–२१६ राष्ट्रिय राजमार्ग करिब एक सातामै पुनः सञ्चालनमा आएको छ। चिनियाँ उद्धार तथा सडक मर्मत टोलीले क्षतिग्रस्त सडक खण्डमा आपत्कालीन काम सम्पन्न गरेपछि सेप्टेम्बर २ देखि यातायात सञ्चालनमा ल्याइएको हो।
अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा पहिरोका कारण तिब्बतको केरुङ नाकातर्फ जाने सडकमा ठूलो क्षति पुगेपछि स्थलमार्गबाट हुने आवागमन अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा विपद् प्रभावित क्षेत्रमा उद्धारकर्मी, भारी उपकरण तथा राहत सामग्री पुर्याउन कठिनाइ भएको थियो।
सडक पुनः सञ्चालनका लागि चिनियाँ उद्धार तथा मर्मत टोलीले क्षतिग्रस्त क्षेत्रमा भग्नावशेष हटाउने, अस्थायी मार्ग निर्माण गर्ने तथा सडक सम्पर्क पुनःस्थापित गर्ने कामलाई तीव्रता दिएको थियो। तत्काल उद्धार तथा आवागमन सहज बनाउने उद्देश्यले सडक खुलाइएको हो। सडकको स्थायी पुनर्निर्माण भने अझै सम्पन्न भइसकेको छैन।
रोयटर्सका अनुसार जी–२१६ केरुङ नाकातर्फ पुग्ने प्रमुख स्थलमार्ग हो। सडक खुलेसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण प्रभावित क्षेत्रमा लैजान सहज भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनका अनुसार सडक पुनः सञ्चालनका लागि करिब ७०० जनशक्ति परिचालन गरिएको थियो। सेप्टेम्बर १ सम्म केरुङ नाकातर्फ करिब ७०० मिटर सडक खण्ड अवरुद्ध रहे पनि त्यसको भोलिपल्ट नै सडक सम्पर्क पुनःस्थापित गरिएको हो।
राजमार्ग सञ्चालनमा आएसँगै यसअघि पहुँच कठिन रहेको प्रभावित क्षेत्रमा उद्धारकर्मी, भारी उपकरण तथा आवश्यक राहत सामग्री पुर्याउन सहज भएको छ। चीनतर्फ बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भने जारी रहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे