
काठमाडौं । सरकारले शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत उपलब्ध गराउने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्थामा शिक्षकको तह र श्रेणीअनुसार सवारीसाधन खरिदका लागि निश्चित रकमसम्मको सुविधा दिने उल्लेख छ।
प्रस्तावित नियमावलीअनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्। त्यस्तै, माध्यमिक तहका तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकलाई चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत गरिने वित्तीय व्यवस्थाअन्तर्गत लागत रकमको ८० प्रतिशतसम्मको किस्तामा लाग्ने ब्याज सरकारले सहुलियतस्वरूप बेहोर्ने प्रस्ताव गरिएको छ।
नियमावलीको प्रस्तावित व्यवस्था कार्यान्वयनमा आउनुअघि अर्थ मन्त्रालयको सहमति आवश्यक पर्नेछ। अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि नियमावली स्वीकृति तथा कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ। हाल यो व्यवस्था प्रस्तावकै चरणमा रहेकाले शिक्षकले सुविधा पाउने प्रक्रिया र कार्यान्वयनसम्बन्धी अन्तिम व्यवस्था स्वीकृत नियमावलीबाट स्पष्ट हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे