
काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म निरन्तरता दिने भएको छ।
यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस उपलब्ध गराउने व्यवस्था गरिएको थियो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सहज बनाउन सेवाग्राहीलाई थप समयसम्म निःशुल्क दूरसञ्चार सुविधा उपलब्ध गराउने निर्णय गरिएको नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै निःशुल्क सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहनेछ। उनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार उक्त सुविधा प्रयोग गर्न आग्रह गरेका छन्।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा सकेसम्म नियमित राख्न कम्पनीले आवश्यक प्राविधिक जनशक्ति परिचालन गरेको जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश दूरसञ्चार संरचना पुनः सञ्चालनमा आइसकेका छन्। सञ्चालनमा आउन बाँकी संरचनालाई समेत यथाशीघ्र मर्मत गरी सेवा नियमित गर्ने प्रयास भइरहेको नेपाल टेलिकमले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे