
काठमाडौँ । नेपालका करिब ९० प्रतिशत नागरिकको घरआँगन वा जग्गाभित्रै खानेपानीको स्रोत पुगे पनि सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवा पाउने जनसंख्या आधाभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको अध्ययनअनुसार घरपरिसरमै सुधारिएको खानेपानीको स्रोत भएका नागरिक ९० प्रतिशत पुग्दा सुरक्षित खानेपानी सेवा पाउने जनसंख्या भने ४७.५ प्रतिशत मात्रै छ ।
खानेपानीको पहुँच विस्तार भए पनि गुणस्तर र सुरक्षित व्यवस्थापनमा ठूलो चुनौती रहेको प्रतिवेदनले देखाएको छ । ९२.८ प्रतिशत नागरिकले सुधारिएको चर्पी प्रयोग गरे पनि मलमूत्रको सुरक्षित व्यवस्थापनसहितको सरसफाइ सेवा पाउने जनसंख्या ३९.९ प्रतिशत मात्रै छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयगत प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो । राष्ट्रिय जनगणना २०७८ को विषयगत प्रतिवेदन शृंखलाअन्तर्गत युनिसेफ र युएन–ह्याबिट्याटको सहयोगमा तयार पारिएको अध्ययनमा २०६८ र २०७८ का दुई जनगणना तथा दुई चरणका बहुसूचक क्लस्टर सर्वेक्षणका तथ्याङ्क विश्लेषण गरिएको छ । पछिल्लो सर्वेक्षण सन् २०२४ डिसेम्बरदेखि २०२५ मेसम्म सञ्चालन गरिएको थियो ।
प्रतिवेदनले नेपालको खानेपानी तथा सरसफाइ क्षेत्र अब पहुँच विस्तारको चुनौतीबाट सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्ने चरणमा पुगेको औँल्याएको छ । पूर्वाधार विस्तारमा प्रगति भए पनि नागरिकले चाहिएको समयमा पर्याप्त र स्वच्छ पानी पाउने अवस्था अझै सुनिश्चित हुन नसकेको कार्यालयको निष्कर्ष छ ।
सुरक्षित खानेपानी सेवा पाउने जनसंख्या सन् २०१९ मा १९.१ प्रतिशत रहेकामा अहिले बढेर ४७.५ प्रतिशत पुगेको छ । त्यस्तै, पानीको स्रोतमा दिसाजन्य जीवाणु ईकोलाई भेटिने दर ७५.३ प्रतिशतबाट घटेर ४६.१ प्रतिशतमा झरेको छ । यद्यपि, अझै ४ लाख ७३ हजारभन्दा बढी घरपरिवार असुरक्षित स्रोतको पानी प्रयोग गरिरहेका छन् ।
वि.सं. २०६८ मा ४७.८ प्रतिशत घरपरिवारले धारा वा पाइपको पानी प्रयोग गर्ने गरेकामा २०७८ मा यो अनुपात बढेर ५७ प्रतिशत पुगेको छ । पहिलोपटक धाराको पानी ट्युबवेललाई उछिन्दै घरपरिवारको प्रमुख खानेपानी स्रोत बनेको हो । यस अवधिमा असुरक्षित स्रोतमा निर्भर घरपरिवारको अनुपात १४.६ प्रतिशतबाट घटेर ७.१ प्रतिशतमा झरेको छ ।
तर, यो प्रगति राष्ट्रिय लक्ष्यको तुलनामा अझै अपर्याप्त छ । राष्ट्रिय योजना आयोगको मार्गचित्रले सन् २०२५ सम्म ६५ प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखेको छ । सरसफाइमा पनि सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यालाई सुरक्षित सेवा उपलब्ध गराउने लक्ष्य छ । हालको प्रगतिका आधारमा निर्धारित लक्ष्य हासिल गर्न कठिन देखिएको कार्यालयले जनाएको छ ।
घरमा ल्याएपछि झन् दूषित हुन्छ पानी
अध्ययनको अर्को महत्वपूर्ण निष्कर्ष घरमा भण्डारण गरिएको पानी स्रोतको तुलनामा बढी दूषित हुने गरेको छ । खानेपानीको स्रोतमा ईकोलाई भेटिने दर ४६.१ प्रतिशत रहेकामा घरमा भण्डारण गरिएको पानीमा यस्तो जीवाणु भेटिने दर ६१.२ प्रतिशत पुगेको छ । पानी ओसार्ने, सार्ने र भण्डारण गर्ने क्रममा थप दूषण हुने गरेको कार्यालयको विश्लेषण छ ।
ट्युबवेलको मुखमा २६.६ प्रतिशत मात्र दूषित भेटिएको पानी घरमा पुग्दा ५९ प्रतिशतसम्म दूषित हुने गरेको छ । छिमेकीको धाराबाट ल्याइएको पानीमा भने दूषणको दर ८४.९ प्रतिशतसम्म पुगेको छ । यसले पानीको स्रोत सुधार्नु मात्रै पर्याप्त नभई संकलन, ओसारपसार र भण्डारणमा समेत स्वच्छता कायम गर्नुपर्ने देखाएको छ ।
प्रदेशगत तथ्याङ्कमा मधेसमा स्रोतकै पानी दूषित हुने दर २८.३ प्रतिशत छ, जुन सात प्रदेशमध्ये सबैभन्दा कम हो । तर, घरमा भण्डारण गर्दा यो दर बढेर ६५ प्रतिशत पुग्छ । यसको विपरीत कर्णालीमा स्रोतबाटै पानी दूषित हुने समस्या गम्भीर छ । त्यहाँ ७० प्रतिशत जनसंख्याको खानेपानीको स्रोतमा दूषण भेटिएको छ ।
तराईमा आर्सेनिकको जोखिम बढ्दो
दिसाजन्य जीवाणुको प्रदूषण घट्दै गए पनि पानीमा आर्सेनिकको जोखिम भने बढेको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी आर्सेनिक भएको पानी पिउने जनसंख्या पछिल्लो पाँच वर्षमा २.८ प्रतिशतबाट बढेर ३.९ प्रतिशत पुगेको छ ।
यो समस्या विशेषगरी तराई क्षेत्रमा केन्द्रित छ । तराईका ७.४ प्रतिशत नागरिक आर्सेनिकयुक्त पानीको जोखिममा छन् । प्रदेशगत रूपमा मधेसमा ९.५ प्रतिशत र सुदूरपश्चिममा ८.४ प्रतिशत जनसंख्याको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । ट्युबवेलको पानी प्रयोग गर्ने नागरिकमध्ये ९.४ प्रतिशत यस्तो जोखिममा छन् । अर्धसहरी क्षेत्रमा पनि आर्सेनिकयुक्त पानी पिउने जनसंख्या झन्डै दोब्बर भएको अध्ययनले देखाएको छ ।
आर्सेनिक भूगर्भमै प्राकृतिक रूपमा पाइने भएकाले सरसफाइ र व्यक्तिगत बानीव्यवहारमा सुधार गरेर मात्रै यसको जोखिम नियन्त्रण गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ ।
कर्णालीमा पहुँच विस्तार भए पनि सुरक्षित पानीको अभाव
सुरक्षित खानेपानी सेवामा प्रदेशगत असमानता पनि उल्लेखनीय छ । मधेसमा ६६.१ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी सेवा पाउँदा कर्णालीमा यो अनुपात २२.१ प्रतिशत मात्रै छ ।
पछिल्लो पाँच वर्षमा कर्णालीमा घरमै खानेपानीको स्रोत पुगेको जनसंख्या ३७.९ प्रतिशत बिन्दुले बढेको छ । तर, चाहिएको समयमा पर्याप्त पानी पाउने जनसंख्याको अनुपात ५९.५ प्रतिशतबाट घटेर ५४.५ प्रतिशतमा झरेको छ । कर्णालीका ३४.८ प्रतिशत नागरिकको खानेपानीको स्रोत एक वर्षमा कुनै न कुनै प्राकृतिक प्रकोपबाट प्रभावित भएको छ, जुन देशकै उच्च दर हो ।
गण्डकीमा ९२.६ प्रतिशत नागरिकको घरमै खानेपानीको स्रोत पुगेको छ । तर, सुरक्षित रूपमा व्यवस्थित पानी पाउने जनसंख्या २८.२ प्रतिशत मात्रै छ । पहुँच र सुरक्षित सेवाबीचको अन्तर देशकै सबैभन्दा ठूलो देखिएको छ । यद्यपि, सुरक्षित सरसफाइ सेवामा भने गण्डकी ६३.३ प्रतिशतसहित पहिलो स्थानमा छ ।
पानी अपुग हुनुका कारणमध्ये ४३.६ प्रतिशतले स्रोतसम्म पहुँच नहुनुलाई र ४०.२ प्रतिशतले धारा वा ट्युबवेल बिग्रिएको, पाइप फुटेको वा पानीको स्रोत सुकेको अवस्थालाई प्रमुख कारण बताएका छन् । बागमतीमा बिग्रिएका स्रोत र संरचनाको मर्मतसम्भार नहुनु पानी अपुग हुनुको मुख्य कारण देखिएको छ । मधेसमा भने स्रोतसम्म पहुँच नहुनु र पानी महँगो हुनु प्रमुख समस्या बनेको छ ।
काठमाडौँ उपत्यकामा जारको पानीमा निर्भरता
काठमाडौँ उपत्यकामा जनसंख्या र घरपरिवारको संख्या बढे पनि धारा विस्तार सोही अनुपातमा हुन सकेको छैन । काठमाडौँ जिल्लामा एक दशकमा एक लाख सात हजारभन्दा बढी नयाँ घरपरिवार थपिँदा करिब २८ हजार ६ सय घरपरिवारमा मात्रै नयाँ धारा जडान भएको छ । भक्तपुरमा करिब ४० हजार नयाँ घरपरिवार थपिएकामा १३ हजारले मात्रै धारा सुविधा पाएका छन् ।
धारा विस्तारको अभावमा उपत्यकाका धेरै घरपरिवार जार तथा बोतलको पानीमा निर्भर हुन थालेका छन् । काठमाडौँका ३५.१ प्रतिशत, ललितपुरका ३१.६ प्रतिशत र भक्तपुरका २४ प्रतिशत घरपरिवार जारको पानी प्रयोग गर्छन् । देशभर जारको पानी प्रयोग गर्ने घरपरिवारमध्ये ८४.६ प्रतिशत उपत्यकाका तीन जिल्लामा छन् ।
उपत्यकामा सुधारिएको चर्पी प्रयोग गर्ने जनसंख्या ९९.४ प्रतिशत रहे पनि सुरक्षित तथा व्यवस्थित सरसफाइ सेवा पाउने जनसंख्या १४.३ प्रतिशत मात्रै छ । यो देशकै सबैभन्दा न्यून अनुपात हो । उपत्यकाका दुई तिहाइ जनसंख्याको चर्पी ढल प्रणालीमा जोडिएको छ । तर, ढल प्रशोधनको अवस्था स्पष्ट गर्ने तथ्याङ्क उपलब्ध नभएको कार्यालयले जनाएको छ ।
सन् २०११ को एक अध्ययनले उपत्यकाको ९५ प्रतिशतभन्दा बढी ढल बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदीमा प्रशोधन नगरी मिसिने गरेको देखाएको थियो । त्यसयता गुह्येश्वरी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ भने धोबीघाट, सल्लाघारी र कोड्कुका प्रशोधन केन्द्र निर्माणाधीन छन् ।
खुला दिसामुक्त घोषणापछि पनि समस्या दोहोरियो
नेपालले वि.सं. २०७६ असोजमा देशलाई खुला दिसामुक्त घोषणा गरेको थियो । जनगणनाअनुसार चर्पी नभएका घरपरिवारको अनुपात वि.सं. २०५८ मा ५३.२ प्रतिशत रहेकामा २०७८ मा घटेर ४.५ प्रतिशत पुगेको छ । तर, खुला दिसा गर्ने जनसंख्या भने घोषणापछि पाँच प्रतिशतबाट बढेर ५.५ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ ।
यो समस्या विशेषगरी ग्रामीण मधेस र विपन्न समुदायमा बढी देखिएको छ । ग्रामीण मधेसमा खुला दिसा गर्ने जनसंख्याको अनुपात ११.५ प्रतिशतबाट बढेर १९.४ प्रतिशत पुगेको छ । लुम्बिनीका अर्धसहरी क्षेत्रमा पनि यो अनुपात पाँच प्रतिशतबाट बढेर १३ प्रतिशत पुगेको छ । सबैभन्दा गरिब वर्गमा खुला दिसा गर्नेको अनुपात ८.५ प्रतिशतबाट बढेर १२.७ प्रतिशत पुगेको छ ।
मधेशी तथा तराई दलित घरपरिवारमध्ये २४.६ प्रतिशतसँग चर्पी छैन । यसको तुलनामा पहाडे जातका घरपरिवारमा चर्पी नहुने दर एक प्रतिशतभन्दा कम छ । अभियानका क्रममा बनाइएका अस्थायी चर्पी, तराईको बाढी, पानी अभावमा प्रयोग गर्न नसकिने फ्लस चर्पी तथा मर्मतसम्भारको खर्च धान्न नसक्नु यसका सम्भावित कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
हात धुने सुविधामा भने सुधार देखिएको छ । पानी र साबुनसहित हात धुने सुविधा भएका नागरिकको अनुपात ८०.७ प्रतिशतबाट बढेर ८६.४ प्रतिशत पुगेको छ । सबैभन्दा गरिब वर्गमा समेत यस्तो सुविधा ४९.८ प्रतिशतबाट बढेर ७०.१ प्रतिशत पुगेको छ ।
५७ स्थानीय तहमा खानेपानी र सरसफाइ दुवैको गम्भीर अभाव
राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलोपटक देशका सबै ७५३ स्थानीय तहको खानेपानी तथा सरसफाइ अवस्थाको अनुमान गरेको छ । जनगणना र बहुसूचक सर्वेक्षणका तथ्याङ्कका आधारमा तयार गरिएको समता सूचकांकअनुसार ५७ स्थानीय तहमा खानेपानी र सरसफाइ दुवैको गम्भीर अभाव देखिएको छ । त्यस्तै, २७७ स्थानीय तहमा खानेपानी र १४७ स्थानीय तहमा सरसफाइ मुख्य कमजोरीका रूपमा देखिएका छन् । बाँकी २७२ स्थानीय तहको अवस्था राम्रो वा सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख छ ।
गम्भीर अभाव भएका स्थानीय तहमध्ये १८ वटा कर्णाली र १५ वटा सुदूरपश्चिम प्रदेशका छन् । डोल्पाको शेफोक्सुन्डो गाउँपालिका देशकै सबैभन्दा कमजोर अवस्थामा रहेको छ । त्यसपछि डोल्पाकै छार्का ताङसोङ र मुगुको मुगुम कार्मारोङ गाउँपालिका छन् । अर्कोतर्फ कञ्चनपुरका पुनर्वास, बेलडाँडी, बेलौरी र शुक्लाफाँटा उत्कृष्ट चार स्थानीय तहमा परेका छन् ।
प्रदेशगत रूपमा मधेसका १३६ मध्ये १०९ स्थानीय तहमा सरसफाइ मुख्य समस्या देखिएको छ भने खानेपानी मुख्य समस्या भएका स्थानीय तह दुईवटा मात्रै छन् । गण्डकीका ८५ मध्ये ४५ स्थानीय तहमा खानेपानी मुख्य समस्या रहेको छ । देशका ५१८ स्थानीय तहमा सुरक्षित खानेपानी सेवा पाउने जनसंख्या आधाभन्दा कम रहेको प्रतिवेदनले देखाएको छ ।
स्थानीय तहमा खानेपानी तथा सरसफाइसम्बन्धी तथ्याङ्क व्यवस्थापन र प्राविधिक क्षमताको अभाव पनि देखिएको छ । राष्ट्रिय सूचना प्रणाली एनवास–एमआईएसमा कुनै पनि स्थानीय तहले पर्याप्त जनशक्ति भए नभएको विवरण उपलब्ध गराएका छैनन् । विवरण पठाएका ३३५ स्थानीय तहमध्ये २४४ मा मात्रै खानेपानी तथा सरसफाइ इकाइ गठन भएको छ भने ९१ मा यस्तो इकाइ छैन । बाँकी ४१८ स्थानीय तहले विवरण नै पठाएका छैनन् ।
सरकारी लक्ष्य र वास्तविक अवस्थाबीच ठूलो अन्तर
सरकारका योजनामा समेत सुरक्षित खानेपानी तथा सरसफाइलाई पर्याप्त प्राथमिकता नदिइएको प्रतिवेदनले औँल्याएको छ । सोह्रौँ योजनाले आधारभूत खानेपानी सेवा ९९ प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य राखे पनि दिगो विकास लक्ष्यको प्रमुख मापदण्ड मानिने सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवाका लागि छुट्टै लक्ष्य निर्धारण नगरेको कार्यालयले जनाएको छ ।
सरसफाइतर्फ सोह्रौँ योजनाले सुरक्षित सेवा ६१ प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । तर, यो लक्ष्य पुरानो र तुलनात्मक रूपमा खुकुलो मापन विधिमा आधारित रहेको प्रतिवेदनको निष्कर्ष छ । नयाँ तथा कडा मापन विधिअनुसार अहिले सुरक्षित सरसफाइ सेवा पाउने जनसंख्या ३९.९ प्रतिशत मात्रै छ । यसले सरकारी लक्ष्य र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको देखाउँछ ।
सरकारी निकायका तथ्याङ्कबीच समेत एकरूपता नभएको प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ मा सुरक्षित खानेपानी सेवा पाउने जनसंख्या २५.८ प्रतिशत रहेको उल्लेख गरेकामा राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो अध्ययनले ४७.५ प्रतिशत देखाएको छ । कार्यालयका अनुसार यो अन्तर वास्तविक सुधारभन्दा पनि तथ्याङ्क मापन गर्ने विधिमा रहेको भिन्नताका कारण देखिएको हो ।
कार्यालयले खानेपानी र सरसफाइको प्रगति मापन गर्दा सामान्य पहुँचभन्दा सुरक्षित रूपमा व्यवस्थित सेवाको अवस्थालाई मुख्य आधार बनाउन सुझाव दिएको छ । राष्ट्रिय तथा प्रदेशगत औसतका आधारमा मात्र बजेट विनियोजन नगरी स्थानीय तहको वास्तविक अवस्थालाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
नयाँ आयोजना निर्माणसँगै पुराना खानेपानी आयोजनाको मर्मतसम्भार र पुनर्स्थापनाका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, चर्पी निर्माणभन्दा मलमूत्रको सुरक्षित व्यवस्थापन र प्रशोधनलाई प्राथमिकता दिनुपर्ने तथा खुला दिसामुक्त घोषणाको नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।
त्यस्तै, पानी ओसार्ने जिम्मेवारी बढी वहन गर्ने महिलालाई ध्यानमा राखेर लगानीको प्राथमिकता निर्धारण गर्न, स्थानीय तहमा प्राविधिक जनशक्तिसहित खानेपानी तथा सरसफाइ इकाइ गठन गर्न र राष्ट्रिय तथ्याङ्क कार्यालय तथा खानेपानी तथा ढल व्यवस्थापन विभागबीच तथ्याङ्क मिलानका लागि स्थायी संयुक्त संयन्त्र बनाउन सिफारिस गरिएको छ ।
प्रतिवेदनले घरआँगनमा धारा पुग्नु खानेपानी सेवाको पहिलो चरण मात्रै भएको स्पष्ट पारेको छ । धाराबाट आवश्यक समयमा स्वच्छ पानी उपलब्ध नहुँदा र चर्पीको मलमूत्र नदी तथा माटोमा मिसिइरहँदा खानेपानीको पहुँचसम्बन्धी उच्च तथ्याङ्कले मात्रै जनस्वास्थ्यको सुरक्षा गर्न नसक्ने कार्यालयको निष्कर्ष छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे