
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहको भ्रमण कार्यक्रम सार्वजनिक गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, ऊर्जा, व्यापार तथा पूर्वाधार विकास भ्रमणका प्रमुख एजेन्डा रहने जनाएको छ।
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको उडानबाट भारत प्रस्थान गर्नेछन्। दुईदिने भ्रमण सम्पन्न गरी उनी मंसिर ७ गते साँझ ६ः३५ बजे निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
३४ सदस्यीय सरकारी टोली, ५२ व्यवसायी सहभागी हुने
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य भ्रमण टोलीमा थपिनेछन्। यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ। भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ।
मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र परियोजना उद्घाटन
भ्रमणको पहिलो दिन मंसिर ६ गते भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यसको भोलिपल्ट मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्।
दुई प्रधानमन्त्रीबीचको वार्ताका क्रममा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्य तथा पूर्वाधार विकाससम्बन्धी विषयमा छलफल हुनेछ। सोही अवसरमा विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफलका विषय तथा उपलब्धिबारे जानकारी गराउनेछन्। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा शाह सहभागी हुनेछन्।
भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै, उनले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
व्यापार, ऊर्जा र पूर्वाधारमा आर्थिक सहकार्य
परराष्ट्र मन्त्रालयका अनुसार भारत नेपालको महत्त्वपूर्ण आर्थिक साझेदार भएकाले भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिइनेछ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायत क्षेत्र समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यस्ता समझदारीबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य विस्तार हुने मन्त्रालयको अपेक्षा छ।
नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हित र सहयोगका विषयमा दुवै देशका प्रधानमन्त्रीबीच छलफल हुनेछ।
नेपाल–भारत बिजनेस फोरम आयोजना हुने
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना गरिनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि अवलम्बन गरेका नीतिगत व्यवस्था, सुधारका प्रयास र उपलब्ध अवसरबारे जानकारी गराइनेछ। यसले नेपाली तथा भारतीय व्यवसायीबीच लगानी र व्यावसायिक साझेदारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको यस भ्रमणबाट नेपाल–भारत द्विपक्षीय सम्बन्ध र साझेदारीले थप गति लिने विश्वास व्यक्त गरेको छ। भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल हुनुका साथै दुवै देशबीच आर्थिक, सामाजिक तथा विकास साझेदारी थप मजबुत हुने मन्त्रालयको अपेक्षा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे