
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा आर्जन गरेको खुद नाफाबाट विभिन्न वैधानिक तथा अन्य कोषमा आवश्यक रकम छुट्याएर बाँकी रहेको ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने भएको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले सरकारलाई उक्त रकम लाभांशका रूपमा हस्तान्तरण गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३.८४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा राष्ट्र बैंकको खुद आय ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ रहेको थियो। त्यस वर्ष पनि राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नै उपलब्ध गराएको थियो।
राष्ट्र बैंकको आम्दानी वृद्धि हुनुमा विदेशी मुद्रा सञ्चितिबाट प्राप्त ब्याज आम्दानीमा भएको सुधार प्रमुख कारण देखिएको छ। गत आर्थिक वर्ष विदेशी मुद्राबाट प्राप्त खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २३ प्रतिशतले बढी हो।
नेपालमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि तथा आयातमा आएको सुधारसँगै विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। २०८३ असार मसान्तसम्म नेपालको विदेशी मुद्रा सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६ प्रतिशतले बढी हो।
विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएसँगै राष्ट्र बैंकले सञ्चित विदेशी मुद्रालाई विभिन्न अन्तर्राष्ट्रिय वित्तीय उपकरण, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप, ट्रेजरी बिल्स र बन्डमा लगानी गर्दै आएको छ। यस्ता लगानीबाट प्राप्त ब्याज आम्दानी राष्ट्र बैंकको आयको प्रमुख स्रोत बनेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भएको वृद्धिबाट समेत राष्ट्र बैंकलाई उल्लेख्य लाभ भएको छ। गत आर्थिक वर्ष सुनचाँदीको मूल्यवृद्धिका कारण राष्ट्र बैंकले ७१ अर्ब ७१ करोड रुपैयाँ बराबरको लाभ प्राप्त गरेको छ।
राष्ट्र बैंकले आफ्नो खुद आयबाट मौद्रिक दायित्व सञ्चिति, वित्तीय स्थायित्व दायित्व सञ्चिति, खुला बजार स्थिरीकरण कोष, बैंकिङ विकास कोषलगायत वैधानिक तथा अन्य आवश्यक कोषमा रकम छुट्याउने व्यवस्था छ। ती कोषमा आवश्यक रकम विनियोजन गरेपछि बाँकी रहने रकम सरकारलाई उपलब्ध गराइने व्यवस्था अनुसार राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ हस्तान्तरण गर्न लागेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे