
काठमाडौं । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले मंसिर महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार ६ वटा बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यसपटक कुनै पनि बैंकले निक्षेपको ब्याजदर बढाएका छैनन्।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको छ। बैंकले यसअघि ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशत कायम गरेको हो। त्यस्तै, कृषि विकास बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।
एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवै प्रकारका निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। नयाँ दरअनुसार व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ। लक्ष्मी सनराइज बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएर ३.७५ प्रतिशत निर्धारण गरेको छ।
त्यसैगरी, कुमारी बैंकले ०.०९ प्रतिशत विन्दुले घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
मंसिर महिनामा व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंकका रूपमा सानिमा बैंक रहेको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५१ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ। त्यस्तै, प्रभु बैंकले व्यक्तिगत निक्षेपमा ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ भने हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपमा ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार मंसिर महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९०६ प्रतिशतमा झरेको छ। कात्तिक महिनामा यस्तो औसत ब्याजदर ४.०१३ प्रतिशत रहेको थियो। यसअनुसार एक महिनाको अवधिमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशत विन्दुले घटेको हो।
त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि कात्तिकको ३.००३ प्रतिशतबाट घटेर मंसिरमा २.९९०५ प्रतिशत कायम भएको छ। संस्थागत निक्षेपको ब्याजदरमा ०.०१२५ प्रतिशत विन्दुको गिरावट आएको तथ्यांकले देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे