
काठमाडौं । नेपाल सरकार र सामाजिक सञ्जालमञ्च टिकटकबीच डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिलासम्बन्धी वरिष्ठ निर्देशक एमिर गेलेनबीच भएको भेटवार्तामा डिजिटल प्रविधिको उपयोगमार्फत नेपालको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री तिमिल्सिनाले टिकटकजस्ता डिजिटल मञ्चलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली कला, संस्कृति, पर्यटन, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए। उनले डिजिटल प्रविधिबाट प्राप्त हुने अवसरलाई ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री तिमिल्सिनाले डिजिटल साक्षरता अभिवृद्धि, प्रयोगकर्ताको गोपनीयताको संरक्षण र सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताए। साथै, विपद्का समयमा आवश्यक सूचना प्रवाह, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय नागरिकसम्म पुर्याउन सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो।
भेटमा टिकटकका वरिष्ठ निर्देशक गेलेनले नेपालमा डिजिटल साक्षरता, सामुदायिक विकास, नेपाली व्यवसाय, पर्यटन तथा कला–संस्कृतिको प्रवर्द्धनमा सहकार्य गर्न टिकटक इच्छुक रहेको बताए। उनले सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग सहकार्य गर्ने तत्परता व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे