
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको ‘एए माइनस’ रेटिङ बढाएर ‘एए’ कायम गरेको हो। कम्पनीको वित्तीय अवस्था, लगानी संरचना, जोखिम व्यवस्थापन तथा संस्थागत क्षमतामा आएको सुधारका आधारमा रेटिङ स्तरोन्नति गरिएको जनाइएको छ।
इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजारमा रहेको बलियो उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलतालाई मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो।
इक्रा नेपालका अनुसार ‘एए’ रेटिङ प्राप्त संस्थाहरूले वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने उच्च क्षमता राख्छन्। यस्ता संस्थामा कर्जा जोखिम अत्यन्त न्यून रहने र वित्तीय दायित्व निर्वाह गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा रहेको मानिन्छ।
यसअघि नेपाल लाइफ जीवन बीमा क्षेत्रमै इक्रा नेपालबाट ‘एए माइनस’ रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको थियो। अहिले उक्त रेटिङ थप एक तह माथि उक्लिएर ‘एए’ कायम हुनुले कम्पनीको वित्तीय सुदृढीकरण, संस्थागत क्षमता र सञ्चालन प्रभावकारितामा भएको प्रगतिलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपातसमेत सुधार भएको छ। अघिल्लो अवधिमा करिब १४५ प्रतिशत रहेको यस्तो अनुपात बढेर करिब १५४ प्रतिशत पुगेको छ। यो बीमा नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतको सीमाभन्दा माथि हो।
त्यस्तै, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा केन्द्रित लगानीको अनुपात घटाएको जनाएको छ। यसबाट कम्पनीको लगानी पोर्टफोलियो थप विविधीकृत हुनुका साथै वित्तीय जोखिम व्यवस्थापन र लगानी संरचनामा समेत सुधार आएको विज्ञप्तिमा उल्लेख छ।
कम्पनीको रेटिङ स्तरोन्नतिले वित्तीय दायित्व बहन गर्ने क्षमता, लगानी व्यवस्थापन र संस्थागत विश्वसनीयतामा भएको सुधारलाई संकेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे