
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका स्वास्थ्य समस्या भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई शक्तिवर्धक पेय पदार्थ सेवन नगर्न आग्रह गरेको छ। यस्ता पेय पदार्थमा क्याफिनको मात्रा रहने भएकाले स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै विभागले सुरक्षित उपभोगसम्बन्धी सावधानी अपनाउन अनुरोध गरेको हो।
विभागले शक्तिवर्धक पेय पदार्थ सेवन गर्न सक्ने व्यक्तिलाई समेत दैनिक दुई बट्टाभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ। साथै, यस्ता पेय पदार्थलाई पानी, दूध, मोही तथा फलफूलको रसजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थसँग मिसाएर सेवन नगर्न आग्रह गरिएको छ।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी शक्तिवर्धक पेय पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। ती उद्योगबाट उत्पादित पेय पदार्थको विवरणपत्र तथा प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा प्रतिबट्टा १०० मिलिग्राम क्याफिन प्रयोग भएको पाइएको विभागले जनाएको छ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण र अमेरिकी खाद्य तथा औषधि प्रशासनलगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै प्रकारका खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने क्याफिनको कुल मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्।
विभागले नेपालमा उत्पादित शक्तिवर्धक पेय पदार्थको प्रतिबट्टा क्याफिनको मात्रा स्वस्थ वयस्कका लागि उल्लेखित दैनिक अधिकतम सीमाको करिब एकचौथाइ रहेको जनाएको छ। यद्यपि, क्याफिनको सेवन अन्य खाद्य तथा पेय पदार्थबाट समेत हुने भएकाले कुल दैनिक मात्रा र व्यक्तिगत स्वास्थ्य अवस्थालाई ध्यान दिन आवश्यक हुन्छ।
विभागले शक्तिवर्धक पेय पदार्थका उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनबमोजिम आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न निर्देशन दिएको छ। उत्पादनको विवरणपत्रमा उल्लेख गरिएका चेतावनी, क्याफिनको मात्रा तथा सुरक्षित सेवनसम्बन्धी जानकारी उपभोक्ताले स्पष्ट रूपमा बुझ्ने गरी उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई सही जानकारी उपलब्ध गराउनुपर्नेमा विभागले जोड दिएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत उत्पादन, बिक्रीवितरण तथा अन्य गतिविधि गर्ने व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे