
काठमाडौं । वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा दुई लाख चार हजार २४८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि असोज मसान्तसम्म उक्त संख्यामा नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति प्राप्त गरेका हुन्।
विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामध्ये असोजमा सबैभन्दा धेरै श्रम स्वीकृति जारी भएको छ। साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा घटेर ६० हजार ४२ जनामा सीमित भएको थियो। तर, असोजमा पुनः वृद्धि हुँदै ७३ हजार ७६५ पुगेको छ।
असोजमा श्रम स्वीकृति लिनेको संख्या भदौको तुलनामा १३ हजार ७२३ र साउनको तुलनामा तीन हजार ३२४ ले बढी हो। यसले भदौमा घटेको वैदेशिक रोजगारीको श्रम स्वीकृति असोजमा पुनः बढेको देखाएको छ।
असोजमा श्रम स्वीकृति प्राप्त गर्नेहरूमध्ये ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला रहेका छन्। कुल श्रम स्वीकृतिमध्ये संस्थागत, व्यक्तिगत तथा सरकार–सरकारबीचको सम्झौताअन्तर्गत नयाँ श्रम स्वीकृति लिनेको संख्या ४३ हजार ५५९ रहेको छ। यसैगरी, बिदामा स्वदेश फर्किएर पुनः वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ३० हजार २०६ छ।
यसअघि भदौमा श्रम स्वीकृति लिने ६० हजार ४२ जनामध्ये ५१ हजार ८४३ पुरुष र आठ हजार १९९ महिला थिए। सो महिनामा ३५ हजार ६२७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति प्राप्त गरेका थिए।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको प्रमुख गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। विभागको असोज महिनाको तथ्यांकअनुसार अन्य प्रमुख श्रम गन्तव्य मुलुकको तुलनामा यूएईका लागि सबैभन्दा धेरै श्रम स्वीकृति जारी भएको छ।
असोजमा यूएई जान २३ हजार ८९९ जनाले श्रम स्वीकृति लिएका छन्। दोस्रो स्थानमा रहेको कतारका लागि ११ हजार ४९७, मलेसियाका लागि नौ हजार ६५३, साउदी अरेबियाका लागि आठ हजार ३६६ र कुवेतका लागि पाँच हजार २७ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।
परम्परागत श्रम गन्तव्यबाहेक युरोपेली मुलुकतर्फ पनि नेपाली श्रमिकको आकर्षण देखिएको छ। असोजमा रोमानियाका लागि दुई हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् भने जापानका लागि एक हजार ४९५ जनाले अनुमति प्राप्त गरेका छन्।
सीप तथा दक्षताका आधारमा गरिएको वर्गीकरणले वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सामान्य दक्षता भएका श्रमिकको संख्या सबैभन्दा बढी रहेको देखाएको छ।
विभागका अनुसार असोजमा श्रम स्वीकृति लिनेहरूमध्ये ४० हजार ७०० जना दक्ष, २० हजार २२८ जना अदक्ष र १२ हजार ३४२ जना अर्धदक्ष श्रमिक रहेका छन्। त्यस्तै, व्यावसायिक जनशक्तिको संख्या ४१५ र उच्च दक्ष जनशक्तिको संख्या ८० मात्रै रहेको छ।
तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये उच्च दक्ष जनशक्तिको हिस्सा अत्यन्त न्यून रहेको देखाउँछ। अधिकांश श्रमिक दक्ष, अर्धदक्ष तथा अदक्ष श्रेणीमा केन्द्रित छन्।
जिल्लागत विवरणअनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बढी देखिएको छ।
असोजमा सबैभन्दा धेरै झापा जिल्लाबाट तीन हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि धनुषाबाट तीन हजार ३२६ र मोरङबाट तीन हजार १७७ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।
त्यसैगरी, सिराहाबाट दुई हजार ७२३ र सुनसरीबाट दुई हजार ५११ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
यसको तुलनामा हिमाली जिल्लाहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या न्यून रहेको छ। विभागको तथ्यांकअनुसार मनाङ, मुस्ताङ र डोल्पाबाट श्रम स्वीकृति लिनेको संख्या प्रतिजिल्ला ५० भन्दा कम छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरणले नेपाली श्रमिकको प्रमुख गन्तव्य खाडी तथा मलेसियालगायतका मुलुक नै रहेको देखाएको छ। यद्यपि, रोमानिया र जापानजस्ता मुलुकमा समेत नेपाली श्रमिकको उपस्थिति विस्तार हुँदै गएको तथ्यांकले संकेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे