
काठमाडौं । सरकारले सांस्कृतिक पहिचान, राष्ट्रिय महत्त्व तथा सामाजिक जनचेतनासँग सम्बन्धित विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन आह्वान गरेको हो।
मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार चलचित्रको कथा तथा पटकथा विकास, निर्माण र निर्माणपछिका प्राविधिक कार्यका लागि तीन छुट्टाछुट्टै विधामा प्रोत्साहन अनुदान प्रदान गरिनेछ। यसअन्तर्गत पटकथा लेखन, चलचित्र निर्माण तथा निर्माणपछिको सम्पादनलगायतका कार्यमा सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सरकारको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विनियोजित बजेट कार्यान्वयन गर्न ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
अनुदान प्राप्त गर्न इच्छुक चलचित्र निर्माता, लेखक तथा सम्बन्धित संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ।
आवेदनका साथ प्रस्तावित चलचित्रको नाम, कथा तथा पटकथाको विवरण, अनुदान माग गरिएको विधा, चलचित्रको भाषा, कथाकार तथा पटकथाकारको नाम र ठेगानालगायतका विवरण समावेश गर्नुपर्नेछ।
त्यस्तै, चलचित्रका निर्माता, निर्देशक, छायाँकार तथा निर्माणमा संलग्न संस्था वा कम्पनीको नाम र ठेगाना खुलाउनुपर्नेछ। चलचित्र निर्माणमा अन्य संस्थासँग साझेदारी गरिएको भए त्यसको विवरणसमेत आवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार प्रस्तावित चलचित्रमा संलग्न कलाकारको नाम र सङ्ख्या, लेखक, निर्माता, निर्देशक, छायाँकार तथा मुख्य कलाकारको व्यक्तिगत विवरणसहित चलचित्र निर्माणसम्बन्धी स्पष्ट कार्ययोजना पेस गर्नुपर्नेछ।
सरकारले यस कार्यक्रममार्फत नेपाली समाजका मौलिक कथा, स्थानीय संस्कृति, परम्परा, ऐतिहासिक तथा राष्ट्रिय पहिचानसँग सम्बन्धित विषयवस्तुको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। विशेषगरी सांस्कृतिक तथा सामाजिक महत्त्वका विषयलाई चलचित्रका माध्यमबाट अभिलेखीकरण गर्दै नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चलचित्र निर्माणका विभिन्न चरणमा आर्थिक सहायता उपलब्ध गराउँदा सिर्जनात्मक गतिविधि विस्तार हुने, मौलिक विषयवस्तुमा आधारित चलचित्र निर्माण बढ्ने तथा सामाजिक चेतना अभिवृद्धिमा योगदान पुग्ने मन्त्रालयको विश्वास छ।
अनुदानका लागि प्राप्त प्रस्तावहरूको मूल्याङ्कन, छनोट, रकम वितरण तथा अन्य प्रक्रिया सम्बन्धित कार्यविधि, २०८३ मा निर्धारित मापदण्ड र सर्तअनुसार सञ्चालन गरिने मन्त्रालयले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे