
बुटवल । लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खानलाई प्रहरीले मध्यराति घरबाट पक्राउ गरेको घटनाप्रति महाअभियानले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी भएकै आधारमा खानलाई पक्राउ गरिएको आरोप लगाउँदै महाअभियानले सरकारी कदमको विरोध गरेको हो।
महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खानको पक्राउलाई गैरकानुनी र स्वेच्छाचारी कदमको संज्ञा दिएका छन्। नागरिकले शान्तिपूर्ण रूपमा असहमति व्यक्त गर्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको महाअभियानको आरोप छ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई नियुक्त गरेपछि त्यसको विरोधमा महाअभियानले प्रदर्शन गर्दै आएको थियो। महाअभियानले उक्त नियुक्तिको विरोधमा भइरहेको नागरिक आन्दोलनलाई कमजोर बनाउने उद्देश्यले संयोजक खानलाई पक्राउ गरिएको दाबी गरेको छ।
महाअभियानका अनुसार खानलाई पक्राउ गर्ने क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको र पक्राउको स्पष्ट कारणसमेत तत्काल जानकारी गराइएको थिएन। यस प्रकारको गतिविधिले मानवअधिकार, विधिको शासन तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।
यता, प्रहरीले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) को तस्बिर जलाएको आरोपमा खानलाई पक्राउ गरिएको जनाएको छ।
सरकारले गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकबाट आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि लुम्बिनी बचाउ महाअभियानले नियुक्तिप्रति असहमति जनाउँदै निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।
महाअभियानले नेपाल सरकार, गृह मन्त्रालय तथा स्थानीय प्रशासनसमक्ष खानलाई अविलम्ब रिहा गर्न माग गरेको छ। माग सम्बोधन नभएमा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकार र प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
त्यस्तै, हिरासतमा खानमाथि कुनै प्रकारको शारीरिक वा मानसिक यातना भए त्यसको जिम्मेवारीसमेत सम्बन्धित सरकारी निकायले लिनुपर्ने महाअभियानले जनाएको छ।
महाअभियानले लुम्बिनीको गरिमा संरक्षण, नागरिक अधिकारको रक्षा तथा लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा आफ्नो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे