
काठमाडौँ । भारतको आन्ध्र प्रदेशमा आएको अर्नब चक्रवातले ठूलो क्षति पुर्याएको छ। चक्रवातका कारण धेरै रुख जरैदेखि उखेलिएका छन् भने हजारौँ विद्युत् खम्बा ढलेका छन्। यसले गर्दा प्रभावित क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ।
भारतीय मौसम विभागका अनुसार बुधबार चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो।
अधिकारीहरूका अनुसार कोनासीमा जिल्लामा मात्रै करिब ६ हजार विद्युत् खम्बा ढलेका छन्। ऊर्जामन्त्री गोट्टिपति रविकुमारले चक्रवातको प्रभाव कम भएपछि २४ घण्टाभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिने बताएका छन्।
भारी वर्षाका कारण यानम क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ। चक्रवातका कारण रेलसेवा पनि प्रभावित भएको छ। अधिकारीहरूले यसको प्रभाव अझै दुई दिनसम्म रहन सक्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे