
काठमाडौं । उच्च सुरक्षा जोखिमका कारण दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेको सार्वजनिक खरिदसम्बन्धी विद्युतीय प्रणाली (ई–जीपी) नयाँ स्वरूपमा सञ्चालनमा आएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ विकसित प्रणाली आजैदेखि प्रयोगमा ल्याइएको जनाएको हो।
पुरानो ई–जीपी प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि कार्यालयले गत भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि यसको सञ्चालन स्थगित गरेको थियो। त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनुरोधमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले नयाँ प्रणाली विकास गरेको हो। कार्यालयको कात्तिक १७ गतेको निर्णयअनुसार पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताका लागि प्रणाली सञ्चालनमा ल्याइएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्ताले मात्र दर्ता हुन पाउनेछन्। सूचना प्रकाशित भएको मितिदेखि सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र यही प्रणालीमार्फत मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ प्रणालीमा बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित सार्वजनिक निकायको कार्यालयमा उपस्थित भएर कागजी प्रतिमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। दुवै माध्यमबाट बोलपत्र बुझाउन सकिने व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी मिलाउन कार्यालयले सबै सार्वजनिक निकायलाई निर्देशन दिएको छ।
तर, बोलपत्र जुनसुकै माध्यमबाट पेस गरिए पनि त्यसको खोलुवा तथा मूल्यांकन भने विद्युतीय खरिद प्रणालीबाटै गर्नुपर्नेछ। कागजी प्रतिमार्फत प्राप्त भएका बोलपत्रको विवरण खोलुवा मुचुल्का र मूल्यांकन प्रतिवेदनमा समेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
ई–जीपी प्रणाली बन्द भएपछि सरकारी निकायका निर्माण कार्य तथा मालसामान खरिदसम्बन्धी बोलपत्र प्रक्रिया प्रभावित हुँदै आएको थियो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै रोकिएका खरिद प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे