
काठमाडौँ । सरकारले बालबालिकामा कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आज र भोलि देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार यस अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। उनले अभिभावकलाई आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्र तथा तोकिएका वितरणस्थलमा लगेर औषधि खुवाउन आग्रह गरेका छन्।
कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको थापाले जानकारी दिए। बालबालिकालाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै भिटामिन ‘ए’ को कमी र परजीवीजन्य सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य जोखिम कम गर्न अभियान सञ्चालन गरिएको हो।
सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि निःशुल्क उपलब्ध गराइन्छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता, कुपोषण तथा भिटामिन ‘ए’ को कमीबाट हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल वितरण र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे