
काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा करिब तीन अर्ब रुपैयाँ लगानीमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ। धनतेरसको अवसर पारेर बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरेका हुन्।
बैंकका अनुसार करिब एक लाख ४५ हजार वर्गफिट निर्माण क्षेत्रफलमा बन्ने उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भवनको संरचना निर्माणदेखि आन्तरिक सजावट (इन्टेरियर) लगायतका सम्पूर्ण कामका लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
शिलान्यास कार्यक्रममा बैंकका अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र अत्याधुनिक सुविधासम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने विश्वास व्यक्त गरे। काठमाडौंको व्यावसायिक दृष्टिले महत्वपूर्ण क्षेत्र उत्तरढोकामा निर्माण हुन लागेको भवन सम्पन्न भएपछि विशिष्ट पहिचानसहितको आकर्षक संरचनाका रूपमा स्थापित हुने उनको भनाइ छ।
अध्यक्ष ढकालले बैंकका ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको साथ र सहयोगकै कारण काठमाडौंको प्रमुख व्यावसायिक क्षेत्रमा आफ्नै केन्द्रीय कार्यालय निर्माण गर्ने अवस्थामा पुगेको बताए। आगामी दिनमा पनि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, ग्राहक तथा आम नागरिकबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे।
उनले बैंकको संस्थागत विकाससँगै आधुनिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिइएको उल्लेख गर्दै नयाँ भवनले बैंकको सेवा प्रवाह र कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको विश्वास, माया र सद्भावका कारण ग्लोबल आइएमई बैंक ठूलो बैंकका रूपमा स्थापित हुन सफल भएको बताए। ग्राहकको बढ्दो संख्या र बैंकको विस्तारित कार्यक्षेत्रअनुसार केन्द्रीय कार्यालयका विभागहरूलाई एउटै स्थानबाट सञ्चालन गर्न नयाँ भवन निर्माण थालिएको उनले जानकारी दिए।
हाल बैंकका केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभाग एउटै भवनबाट सञ्चालन हुन नसकिरहेको अवस्थामा नयाँ भवन निर्माण सम्पन्न भएपछि सबै विभागलाई एउटै छानामुनि ल्याउने योजना रहेको रेग्मीले बताए। यसबाट विभागहरूबीच समन्वय बढ्नुका साथै आन्तरिक कार्यसम्पादन, व्यवस्थापन र सेवा प्रवाह थप प्रभावकारी हुने बैंकको अपेक्षा छ।
रेग्मीका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भवन नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयमध्ये अत्याधुनिक संरचनाका रूपमा विकास गरिनेछ। नयाँ भवनमा केन्द्रीय स्तरका सम्पूर्ण विभागलाई एकीकृत रूपमा सञ्चालन गर्ने गरी आवश्यक पूर्वाधार तयार गरिने उनले बताए।
बैंकले ग्राहकको विश्वास र सहयोगलाई आफ्नो व्यावसायिक सफलताको आधार मान्दै आगामी दिनमा पनि आधुनिक पूर्वाधार निर्माण, प्रविधिको उपयोग र गुणस्तरीय बैंकिङ सेवा विस्तारलाई प्राथमिकता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे