
काठमाडौं । हिन्दू धर्मावलम्बीले आज तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा–आराधना गरेर हरिबोधिनी एकादशी पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वका अवसरमा बिहानैदेखि देशभरका नारायण मन्दिर तथा विभिन्न धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ।
काठमाडौंको बूढानीलकण्ठ र भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरमा भगवान् नारायणको दर्शन तथा पूजाआराधना गर्न आउने श्रद्धालुको घुइँचो लागेको छ। त्यस्तै, काठमाडौं उपत्यकाबाहिरका रिडी, रेसुंगा लगायत देशभरका विभिन्न नारायण मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा गएका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ। भगवान् विष्णु जागा हुने दिन भएकाले यस एकादशीलाई हरिबोधिनी, देवउठनी तथा प्रवोधिनी एकादशी पनि भनिन्छ। यसलाई वर्षकै ठूला एकादशीमध्ये एक मानिन्छ।
यस दिन तुलसीको मठलाई विशेष रूपमा सजाएर दियो बाल्ने, फूलमाला चढाउने तथा तुलसीको विवाह भगवान् दामोदरसँग गराउने परम्परा छ। साथै, नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी व्रत बस्ने र भगवान् विष्णुको पूजा गर्ने चलन पनि रहिआएको छ।
हरिबोधिनी एकादशीका अवसरमा बेल, पीपल, सयपत्रीलगायत फूल तथा पात उनेर तयार पारिएको फूलको डोली नदीमा तार्ने धार्मिक परम्परासमेत छ। धार्मिक विश्वासअनुसार फूलको डोली नदीमा तार्दा पुण्य प्राप्त हुनुका साथै मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने मान्यता रहेको छ।
हरिबोधिनी एकादशीलाई चार महिनासम्म चल्ने चतुर्मास अवधिको समापनका रूपमा पनि लिइन्छ। यस दिनदेखि विवाह, व्रतबन्धलगायतका धार्मिक तथा सामाजिक शुभकार्य गर्न सकिने मान्यता रहेकाले हिन्दू धर्मावलम्बीको विवाहको मौसमसमेत सुरु हुने गर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे