
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारले कुल बजेटको २३.३७ प्रतिशत खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारले चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख रुपैयाँ खर्च गरेको हो।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा पहिलो चार महिनामा तीन खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको २३.३९ प्रतिशत हो।
खर्चको विवरणअनुसार चालु शीर्षकमा सरकारले तीन खर्ब ४६ अर्ब ७५ करोड २४ लाख रुपैयाँ खर्च गरेको छ। यो चालु खर्चका लागि विनियोजित बजेटको २७.२९ प्रतिशत हो। त्यस्तै, पुँजीगत खर्चतर्फ ३२ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो विनियोजित पुँजीगत बजेटको ७.५३ प्रतिशत हो।
वित्तीय व्यवस्थापनतर्फ भने सरकारले एक खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ। उक्त रकम यस शीर्षकमा विनियोजित बजेटको २७.७६ प्रतिशत हो। तथ्यांकले चालु र वित्तीय व्यवस्थापनतर्फको तुलनामा पुँजीगत खर्च निकै कम रहेको देखाएको छ।
यस अवधिमा सरकारले राजस्व संकलनतर्फ वार्षिक लक्ष्यको २३.५८ प्रतिशत उपलब्धि हासिल गरेको छ। कात्तिक मसान्तसम्म तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
त्यसैगरी, वैदेशिक अनुदान प्राप्तितर्फ सरकारले वार्षिक लक्ष्यको १४.५ प्रतिशत मात्रै प्राप्त गरेको छ। पहिलो चार महिनामा आठ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे