
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो।
भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।
दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत भ्रमणको कार्यसूचीमा समेटिएको छ। यसबाट दुई देशबीचको आर्थिक तथा विकास साझेदारीलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसमेत आयोजना हुनेछ। उक्त कार्यक्रममा उनले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले अघि सारेका नीतिगत प्रयास तथा थप विदेशी लगानी आकर्षित गर्ने योजनाबारे जानकारी गराउनेछन्।
फोरममा भारतीय व्यवसायीका चासो तथा सरोकारबारे छलफल हुनुका साथै नेपाली र भारतीय व्यवसायीबीच व्यावसायिक साझेदारी र लगानी सहकार्य विस्तारका विषयमा समेत विचार आदानप्रदान हुनेछ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ।
प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मीलगायत सहभागी छन्।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे