
काठमाडौं । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ ।
बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आह्वान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्ष पहिलोपटक यो दिवस मनाउन लागिएको हो ।
राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वभर करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भइसकेको छ । विश्वका प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्क छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको बताएका छन् । गत अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा उनले गरिबीलाई बालविवाहको प्रमुख कारणका रूपमा औँल्याउँदै द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका अवस्थामा यसको जोखिम थप बढ्ने उल्लेख गरेका थिए ।
बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको भनाइ थियो ।
महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका माध्यमबाट अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ । तर, हालको प्रगतिको गति कायम रहे बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिएका छन् । यसका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वले प्रभावकारी कार्यक्रम तथा लगानी बढाउनुपर्ने उनको आग्रह छ ।
यसैगरी, संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्ने बताएका छन् । राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बोल्दै उनले बालविवाह मानवअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेका थिए ।
उनले विवाहको न्यूनतम उमेर १८ वर्ष कायम गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताए । विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई समेत शिक्षा निरन्तरता दिन र पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ । साथै, बालिकालाई आफ्नै जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्ने उसको धारणा छ ।
राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ । विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा रहेका छन् । त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख महिला तथा बालिका बालविवाहको अवस्थामा रहेका छन् ।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको राष्ट्रसङ्घले जनाएको छ । यसअघि १८ वर्ष उमेर नपुग्दै विवाह हुने महिला तथा बालिकाको अनुपात २५ प्रतिशत रहेकामा अहिले घटेर करिब २१ प्रतिशतमा झरेको छ । यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको तथ्याङ्क छ ।
बालविवाहका कारण बालिकाले शिक्षाको अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत असर पर्ने गरेको छ । यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जटिलता, लैङ्गिक हिंसा तथा यौन शोषणको जोखिमसमेत बढाउने राष्ट्रसङ्घले जनाएको छ ।
दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य नम्बर ५.३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ । तर, वर्तमान प्रगतिको गति पर्याप्त नभएकाले निर्धारित समयभित्र लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिएको छ ।
राष्ट्रसङ्घले बालविवाह अन्त्यका लागि कानुनी सुधारमा मात्र सीमित नभई बालिकाको गुणस्तरीय शिक्षामा पहुँच विस्तार, परिवारको आर्थिक तथा सामाजिक सुरक्षा, लैङ्गिक समानता र सामाजिक चेतना अभिवृद्धिमा समेत जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे