
काभ्रे । अविरल वर्षाका कारण खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध हुँदा काठमाडौंसँग पूर्वी नेपाल जोड्ने सडक यातायात प्रभावित भएको छ।
काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा आइतबार बिहान करिब ८ः५५ बजे सडक माथिबाट ढुङ्गा–माटोसहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पहिरोका कारण उक्त सडकखण्ड हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सडक अवरुद्ध भएपछि काठमाडौंँबाट काभ्रेको कोसीपारी क्षेत्र हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र भोजपुरलगायत पूर्वी जिल्लातर्फ जाने यातायात प्रभावित भएका छन्।
यसअघि नै बीपी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेका कारण पूर्वी जिल्लातर्फ जाने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा अरनिको राजमार्ग प्रयोग गर्दै आएका थिए। तर, अरनिको राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएपछि पूर्वी जिल्लातर्फको सडक यातायातमा थप समस्या सिर्जना भएको छ।
बीपी राजमार्ग अवरुद्ध भएपछि विशेषगरी दोलखा, रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङलगायत जिल्लातर्फ जाने सवारीसाधन अरनिको राजमार्ग हुँदै सञ्चालन हुँदै आएका थिए। दुवै प्रमुख सडकखण्ड प्रभावित भएपछि काठमाडौंसँग पूर्वी जिल्लाको सडक सम्पर्कमा अवरोध बढेको छ।
प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। यद्यपि, लगातार वर्षा भइरहेकाले सडक माथिबाट थप पहिरो खस्ने जोखिम रहेको छ। सडक अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका तथा पूर्वतर्फ गन्तव्य बनाएर हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे