
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा व्यापक क्षति पुर्याएको छ। बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने विभिन्न स्थानका ६ वटा पुल बगेका छन्। नदी आसपासका बस्तीमा समेत बाढी पसेपछि दर्जनौँ घरमा क्षति पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले मोटरेबल तथा झोलुङ्गे पुलहरू बगाउँदा विभिन्न ग्रामीण बस्तीबीचको आवतजावत प्रभावित भएको छ।
बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुलमा क्षति पुर्याएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।
यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्री गाउँपालिकाको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको जनाइएको छ।
बाढीबाट भौतिक पूर्वाधारसँगै नदी किनारका बस्तीमा समेत ठूलो क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर क्षेत्रका करिब ३५ घर बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
त्यस्तै, जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि बाढीले क्षति पुर्याएको छ। बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
बाढीले पुल तथा सडक सम्पर्क प्रभावित बनाएपछि दुर्गम बस्तीमा आवतजावत र राहत तथा उद्धार कार्य चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे