
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न साधारण सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो।
पारित प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले तीन करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश उपलब्ध गराउनेछ।
यसअनुसार बैंकले बोनस सेयर र नगद लाभांशसहित कुल ६२ करोड दुई लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनसमेत पारित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। बैंकले आफ्नो २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको जनाएको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई बैंकको आगामी नीति तथा व्यावसायिक गतिविधिमा समेट्दै संस्थाको वित्तीय तथा व्यवस्थापकीय अवस्था थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले संस्थागत सुशासन, नियामकीय प्रावधानको पालना तथा प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर बैंकको दिगो विकास र व्यावसायिक विस्तारमा केन्द्रित हुने बताए।
बैंकले वित्तीय सेवा विस्तारसँगै डिजिटल बैंकिङ प्रणालीको विकासलाई पनि प्राथमिकता दिएको जनाएको छ। यसअन्तर्गत फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, युवापुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ अनलाइन प्लेटफर्म तथा स्वतन्त्र रूपमा काम गर्ने पेसाकर्मीका लागि विशेष बचत खातालगायतका सेवा सञ्चालनमा ल्याएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन दिन तथा सीआरएन नम्बरसम्बन्धी सेवा प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्ने अन्तरबैंक टेलर सेवा पनि सञ्चालनमा रहेको छ।
बैंकले आफ्नो सेवा विस्तार तथा कार्यसम्पादनका लागि ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ सम्मान प्राप्त गरेको जनाएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे