
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
कतार एयरवेजको जहाजमार्फत अर्थमन्त्री वाग्ले बिहान ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। एआईआईबीको ११औँ वार्षिक बैठक कतारको राजधानी दोहामा सेप्टेम्बर २८ र २९ मा आयोजना गरिएको थियो।
बैठकमा अर्थमन्त्री वाग्लेले नेपालजस्ता विकासशील मुलुकको आवश्यकता र क्षमताअनुकूल हुने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने धारणा राखेका थिए। उनले पूर्वाधार विकासमार्फत पुँजी निर्माणलाई तीव्रता दिन सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै, स्वदेशी तथा विदेशी निजी पुँजीलाई पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने गरी वित्तीय स्रोत परिचालन गर्नुपर्ने बताएका थिए।
बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीकी अध्यक्ष जोउ जियायी तथा विभिन्न सदस्य राष्ट्रका अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटवार्तामा द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालमा पछिल्लो समय भएको प्राकृतिक विपत्तिपछिको राहत तथा पुनर्निर्माणका लागि सहयोग जुटाउने विषयमा छलफल भएको थियो। एआईआईबी अध्यक्षसँगको भेटमा नेपालको पुनर्निर्माणका लागि सहयोग गर्न बैंक तयार रहेको जनाइएको थियो।
यसै क्रममा नेपाल एआईआईबीको गैरक्षेत्रीय सदस्य राष्ट्रहरूको समूहबाट आगामी कार्यकालका लागि उपसभापतिमा चयन भएको छ। अर्थमन्त्री तथा एआईआईबीका लागि नेपालका गभर्नर वाग्लेले बैठककै क्रममा उक्त जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका थिए।
नेपाल एआईआईबीको उपसभापतिमा चयन भएसँगै बैंकको लगानी प्राथमिकता, वित्तीय स्रोत परिचालन तथा पूर्वाधार विकाससम्बन्धी छलफलमा नेपालको सहभागिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। नेपालले पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण तथा दिगो विकासका क्षेत्रमा बहुपक्षीय सहकार्य र लगानी विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे