
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ। बाढीले घर, पुल तथा सडकमा क्षति पुर्याउनुका साथै प्रमुख राजमार्ग अवरुद्ध भएका छन् भने विद्युत् र दूरसञ्चार सेवासमेत प्रभावित भएका छन्।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा नदीको बहाव बढेर जोखिम उच्च भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएको छ।
त्यस्तै, पर्वत, म्याग्दी र लमजुङका प्रमुख नदी तथा खोलामा जलसतह बढेर खतराको तह पार गरेको जनाइएको छ। लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी र म्याग्दी क्षेत्रमा नदीको बहाव बढेपछि आसपासका बस्तीमा जोखिम बढेको छ। कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ क्षेत्रमा समेत वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको बताइएको छ।
बाढी र पहिरोका कारण बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग तथा कालीगण्डकी करिडोरलगायतका प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा खसेको पहिरो हटाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोलीले काम गरिरहेको छ।
पर्वतमा कालीगण्डकी नदीको बहाव बढेर जलजला गाउँपालिका–८ स्थित फर्सेको बस्तीमा प्रवेश गर्दा २५ घर बगेका छन्। बिहान करिब ८ बजे नदी बस्तीमा पसेको र करिब ८० घर रहेको उक्त बस्तीका अन्य घरसमेत जोखिममा रहेको जनाइएको छ। मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको जनाइएको छ। घटनास्थल प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाबाट भएको थप क्षतिको विवरण आउन बाँकी छ।
रूपन्देहीमा तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रमा छ घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो। घरसँगै त्यहाँ रहेका सरसामानसमेत बगेका छन्। मानवीय क्षति नभए पनि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैबीच, मनाङमा निरन्तर वर्षापछि विभिन्न स्थानमा गएको पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ। विद्युत् आपूर्ति बन्द भएपछि सञ्चार सेवासमेत प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा पनि प्रभावित भएको छ। टेलिकमका अनुसार असोज ८ गतेदेखि परेको निरन्तर वर्षा र हावाहुरीका कारण केही स्थानमा सेवा अवरुद्ध भएको हो।
भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको तथा अप्टिकल फाइबरमा क्षति पुगेका कारण सेवा सञ्चालनमा समस्या आएको टेलिकमले जनाएको छ। विद्युत् आपूर्तिमा भएको अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सौर्य ऊर्जामा आधारित दूरसञ्चार केन्द्रको प्रभावकारिता घट्दा पनि सेवामा असर परेको कम्पनीको भनाइ छ।
टेलिकमले प्रणालीमार्फत गर्न सकिने मर्मतसम्भारका काम निरन्तर भइरहेको जनाएको छ। मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी सेवा पुनः सञ्चालन तथा मर्मतको काम अघि बढाउने तयारी गरिएको कम्पनीले जनाएको छ।
बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिले सेवाग्राहीमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ। साथै, प्रतिकूल परिस्थितिमा पनि सेवाग्राहीले धैर्यता कायम राखेको भन्दै कम्पनीले आभार व्यक्त गरेको छ।
प्रशासन तथा सुरक्षा निकायले विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तथा उद्धार व्यवस्थापनलाई तीव्र बनाएका छन्। सम्बन्धित प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र नदी तथा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे