
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको विकास र प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जामा सहज पहुँच, समयमै भुक्तानीको सुनिश्चितता तथा प्रशासनिक प्रक्रियामा सरलीकरण गर्न सरकारसँग माग गरेका छन्।
ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तार गर्न परम्परागत धितोमा आधारित कर्जा प्रणालीको विकल्प विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
उनले विशेषगरी पर्याप्त अचल सम्पत्ति धितो राख्न नसक्ने उद्यमी तथा व्यवसायीलाई लक्षित गरी व्यवसायको नगद प्रवाह, कारोबारको अवस्था तथा बिलका आधारमा कर्जा प्रवाह गर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष श्रेष्ठले साना तथा मझौला उद्यमको वित्तीय जोखिम न्यूनीकरण र कर्जा प्राप्ति सहज बनाउन कर्जा सुरक्षण कोषको दायरा विस्तार गर्नुपर्ने बताए। साथै, चल सम्पत्तिलाई धितोका रूपमा स्वीकार गर्ने दर्ता प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।
बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित भएका उद्यम तथा व्यवसायको पुनःसञ्चालनका लागि तत्काल वित्तीय सहायता आवश्यक रहेको उल्लेख गर्दै उनले प्रभावित व्यवसायीलाई शीघ्र पुनर्स्थापना कर्जा उपलब्ध गराउन माग गरे।
उनले साना तथा मझौला उद्यमको सञ्चालनमा देखिएका वित्तीय तथा प्रशासनिक अवरोध हटाउँदै व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे