
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुनलगायतका वस्तु उडाउन निषेध गरिएको भन्दै त्यस्ता गतिविधि नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
प्राधिकरणअन्तर्गतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै विमान उडान तथा अवतरण हुने क्षेत्र आसपास यस्ता गतिविधि सञ्चालन गर्दा हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने जनाएको हो।
विमानस्थल आसपासको हवाई क्षेत्रमा चंगा उडाउने, अनुमति बिना ड्रोन सञ्चालन गर्ने तथा बेलुनलगायतका वस्तु उडाउने गतिविधिले विमानको नियमित आवागमन प्रभावित हुनुका साथै सम्भावित दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
कार्यालयले विमानस्थलको उडान सुरक्षा सुनिश्चित गर्न सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा तथा सरोकारवाला सबैलाई यस्ता गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको छ।
त्यस्तै, जारी सूचनाको अवज्ञा गर्दै विमानस्थल आसपासका क्षेत्रमा उडान सुरक्षामा असर पर्ने गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
हवाई आवागमनलाई सुरक्षित, व्यवस्थित र जोखिममुक्त बनाउन विमानस्थल आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेमा कार्यालयले जोड दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे