
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
गृह मन्त्रालयका अनुसार गुरुङ सोमबार दिउँसो १ बजे भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्। उनले असोज २७ गते आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बैठकमा नेपालसहित भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्डका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरूको सहभागिता रहनेछ। सात सदस्य राष्ट्रबीच क्षेत्रीय सुरक्षा चुनौतीको साझा पहिचान गर्दै आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।
बैठकमा विशेषगरी अन्तरदेशीय अपराध नियन्त्रण, लागूपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा हुने वित्तीय लगानी तथा साइबर अपराध नियन्त्रणका विषयमा छलफल हुनेछ। त्यस्तै, आतङ्कवाद नियन्त्रण, विपद्जन्य सुरक्षा चुनौती र क्षेत्रीय सुरक्षा संयन्त्रबीच सूचना आदानप्रदान तथा सहकार्य विस्तारका विषयले पनि प्राथमिकता पाउनेछन्।
नेपालले बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको प्राकृतिक विपद्को जोखिमलाई प्रमुख मुद्दाका रूपमा उठाउने तयारी गरेको छ। हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य जोखिम न्यूनीकरण, विपद्को पूर्वसूचना प्रणाली सुदृढीकरण तथा उद्धार र राहत कार्यमा क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयलाई नेपालले विशेष प्राथमिकता दिने गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बैठकले बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रका विभिन्न संयन्त्रमा यसअघि भएका छलफल तथा तयार गरिएका दस्तावेजलाई अनुमोदन गर्ने कार्यक्रमसमेत रहेको छ। सदस्य राष्ट्रहरूबीच सुरक्षा सहकार्यका साझा प्राथमिकता र प्रतिबद्धता समेटिएको घोषणापत्र जारी गर्ने तयारी पनि गरिएको छ।
बिमस्टेकको सुरक्षा सहकार्यलाई उच्च राजनीतिक तहबाट अघि बढाउने उद्देश्यसहित गृहमन्त्रीस्तरीय संयन्त्र स्थापना गर्ने अवधारणा सन् २०१८ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनबाट अघि सारिएको थियो। सोही अवधारणाअनुसार पहिलोपटक भारतमा गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यसूचीसमेत रहेको छ। ती भेटमा द्विपक्षीय सुरक्षा सम्बन्ध, आपसी सहयोग तथा साझा सुरक्षा चुनौती समाधानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे