
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि सरकारले ३,२७९ रोपनी जग्गा पहिचान गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित समितिले प्रभावित परिवारको पुनःस्थापनाका लागि सम्भावित क्षेत्रको अध्ययन गरी जग्गा पहिचान गरेको हो। समितिले अध्ययनपछि पुनःस्थापनाका लागि उपयुक्त क्षेत्र सिफारिससहितको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा बुझाएको छ।
समितिले गरेको अध्ययनबाट तीन जिल्लामा गरी २७७ कित्ता जग्गा पुनःस्थापनाका लागि सम्भावित रहेको पहिचान गरिएको छ। पहिचान गरिएका जग्गामध्ये सबैभन्दा बढी रसुवामा रहेका छन्।
विवरणअनुसार रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको छ। यी जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी रहेको छ।
बाढीका कारण घर तथा बसोबासको आधार गुमाएका र अन्यत्र सुरक्षित रूपमा बसोबास गर्न विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्ने उद्देश्यले सम्भावित स्थानको पहिचान गरिएको हो। समितिको प्रतिवेदनका आधारमा पुनःस्थापना प्रक्रिया अघि बढाइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे