
काठमाडौं। मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा खरेलको योग्यता, सम्भावित स्वार्थको द्वन्द्व तथा आर्थिक कारोबारसम्बन्धी विषयमा प्रश्न उठेपछि समितिले थप अध्ययन गर्ने निर्णय गरेको हो।
सुनुवाइका क्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईं र राजीव खत्रीले खरेलमाथि आर्थिक अनियमितता, वैदेशिक रोजगार व्यवसायीसँगको कथित सम्बन्ध तथा राजदूत पदका लागि आवश्यक योग्यताका विषयमा प्रश्न उठाएका थिए।
सांसदहरूले उठाएका विषयमा थप तथ्य तथा विवरण अध्ययन गर्नुपर्ने निष्कर्षसहित समितिले खरेलको सुनुवाइ प्रक्रिया तत्काल अघि नबढाउने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका सम्बन्धमा उठेका प्रश्नहरूको थप अध्ययन तथा छानबिन आवश्यक देखिएकाले सुनुवाइ केही समयका लागि स्थगित गरिएको जानकारी दिए।
बैठकमा प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लगाइएका आरोपहरूको खण्डन गरेका थिए। उनले आर्थिक लेनदेन, अनुदान उपलब्ध गराउने आश्वासन तथा जग्गासम्बन्धी कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे।
खरेलले आफूले कुनै व्यक्तिबाट रकम नलिएको, अनुदान मिलाइदिने प्रतिबद्धता नगरेको तथा पोखराको जग्गासम्बन्धी विषयमा जानकारीसमेत नरहेको बताएका थिए। उनले आफूमाथि उठाइएका आरोप तथ्यहीन र प्रमाणविहीन भएको जिकिर गरे।
समितिले खरेलमाथि उठेका प्रश्नहरूको अध्ययनपछि मात्रै उनको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने भएको छ। यद्यपि, सुनुवाइ पुनः सञ्चालन हुने मिति तय भएको विवरण सार्वजनिक गरिएको छैन।
यसअघि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, मलेसियालगायत १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो। सोही निर्णयअनुसार खरेललाई मलेसियाका लागि राजदूत प्रस्ताव गरिएको हो।
१। डा. निश्चलनाथ पाण्डे — भारत २। डा. कल्याणराज शर्मा — चीन ३। चिरनजंग थापा — संयुक्त राज्य अमेरिका ४। पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — बेलायत ५। जिग्यान कुमार थापा — जापान ६। सुरेशकुमार कर्ण — इजरायल ७। प्राप्ति शेरचन — स्पेन ८। सरू जोशी — जर्मनी ९। डा. पद्माक्षी राणा — ओमान १०। चुडामणि खरेल — मलेसिया ११। प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया १२। डा. मंचल झा — श्रीलंका १३। गिरीबहादुर सुनार — साउदी अरेबिया
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे