
काठमाडौं। नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व २०८३ को सार्वजनिक बिदाका समयमा विद्युतीय माध्यमबाट हुन सक्ने आर्थिक ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार परिपत्र जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई चाडपर्वको बिदामा साइबर ठगीका घटना न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको हो।
लामो सार्वजनिक बिदाका कारण बैंक तथा वित्तीय संस्थाहरूको नियमित सेवा प्रभावित हुने र यस अवधिमा विद्युतीय कारोबार बढ्ने अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले शंकास्पद आर्थिक गतिविधिको निगरानी तथा नियन्त्रणलाई प्रभावकारी बनाउन जोड दिएको छ।
परिपत्रअनुसार विद्युतीय माध्यमबाट हुने ठगीसम्बन्धी घटनाको अनुसन्धानका लागि आवश्यक कारोबार विवरण समयमै उपलब्ध गराउनुपर्नेछ। साथै, ठगीमा प्रयोग भएको आशंका गरिएका बैंक खाता तथा कारोबार पहिचान गरी तत्काल रोक्का गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।
यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले सार्वजनिक बिदाको अवधिभर प्रहरीसँग समन्वय गर्न एक जना सम्पर्क व्यक्ति अनिवार्य रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित व्यक्तिमार्फत ठगीसम्बन्धी सूचना आदानप्रदान, कारोबार विवरण उपलब्ध गराउने तथा आवश्यक कारबाहीका लागि समन्वय गर्नुपर्नेछ।
राष्ट्र बैंकले तोकिएका सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र चौबिसै घण्टा निगरानी हुने आधिकारिक इमेल ठेगानासहितको विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा उपलब्ध गराउन निर्देशन दिएको छ।
चाडपर्वका समयमा बैंकिङ कारोबारको ठूलो हिस्सा डिजिटल माध्यमबाट सञ्चालन हुने भएकाले साइबर अपराधीले त्यसको दुरुपयोग गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो।
राष्ट्र बैंकका अनुसार बिदाको समयमा समेत बैंक तथा वित्तीय संस्था र प्रहरीबीच प्रभावकारी समन्वय कायम राखी ठगीसम्बन्धी सूचना तत्काल प्राप्त गर्ने, शंकास्पद कारोबार नियन्त्रण गर्ने तथा अनुसन्धान प्रक्रियालाई छिटो र सहज बनाउने उद्देश्यले निर्देशन जारी गरिएको हो।
यस व्यवस्थाले सार्वजनिक बिदाका कारण विद्युतीय ठगीसम्बन्धी घटनाको अनुसन्धान तथा आवश्यक कारबाहीमा हुन सक्ने ढिलाइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे