
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन्। हालसम्म २ हजार २३१ मत गणना हुँदा भण्डारीले १ हजार ५७ र पौडेलले १ हजार ३८१ मत प्राप्त गरेका छन्।
उपसभापतिको खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेका बेला भण्डारी शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानका सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन्। आचार्य र पाण्डेबीच ३२ मतको मात्रै अन्तर छ।
त्यस्तै, गोविन्द भट्टराईले ६०९ मत प्राप्त गरेका छन्। उनी पाण्डेभन्दा ७१ मतले पछाडि छन्। उपसभापतिको खुलातर्फ धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत पाएका छन्।
उपसभापतिको समावेशी समूहमा भने विनोदकुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा देखिएको छ। एक पदका लागि भइरहेको प्रतिस्पर्धामा चौधरीले ६१५ मतसहित अग्रता लिएका छन् भने परियारले ५७८ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३७ मतको अन्तर छ। यस समूहमा सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अन्य उम्मेदवारभन्दा निकै बढी मत प्राप्त गरेका छन्। दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा पौडेलले १ हजार ३८१ मत ल्याउँदा उदयशमशेर राणाले ७८६ र अमरसिंह पुनले ६९५ मत प्राप्त गरेका छन्। पौडेल र राणाबीच ५९५ मतको अन्तर छ भने दोस्रो स्थानका राणा र तेस्रो स्थानका पुनबीच ९१ मतको दूरी छ।
महामन्त्रीको खुलातर्फ सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा भने डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच कडा प्रतिस्पर्धा भइरहेको छ। संग्रौलाले ९६५ मत प्राप्त गर्दा डिनाले ९५२ मत पाएकी छन्। उनीहरूबीचको मतान्तर १३ मात्रै छ। यस पदकी अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले विभिन्न पदका उम्मेदवारको अन्तिम नतिजा आउन बाँकी छ। विशेषगरी उपसभापतिको प्रतिस्पर्धामा दोस्रो र तेस्रो स्थान तथा महिला महामन्त्री पदको मतपरिणामले अन्तिम नतिजासम्म चासो कायम राख्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे