
ललितपुर । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना सम्पन्न भएको छ। झण्डै एक सातासम्म चलेको मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मधेस र बागमती प्रदेशतर्फका केन्द्रीय सदस्यको अन्तिम मतगणना सम्पन्न भएसँगै सबै पदको मतगणना सकिएको हो। हाल मतपरिणाम रुजु गर्ने कार्य भइरहेको र त्यसलगत्तै सम्पूर्ण नतिजा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसअघि बिहीबार राति लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडित समूहबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना सम्पन्न भएको थियो। त्यस्तै, सहमहामन्त्री तथा खस आर्य र थारू समूहबाट निर्वाचित हुने खुला एवं महिला केन्द्रीय सदस्यहरूको मतगणना पनि राति अबेर सकिएको थियो।
महाधिवेशनअन्तर्गत असोज २३ गते रातिदेखि मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान घोषणा गरिएको थियो भने अन्य पदको मतगणना सोही दिन रातिदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चालन गरिएको थियो।
निर्वाचन समितिका अनुसार यसपटक मतगणना प्रक्रियालाई व्यवस्थित र छिटो सम्पन्न गर्न दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो। मतदानदेखि मतगणनासम्म कुनै उल्लेखनीय विवाद उत्पन्न नभएको र सम्पूर्ण निर्वाचन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सदस्य सचिव कटुवालले बताए।
यस महाधिवेशनमा कुल सात हजार ३९२ मतदाता सहभागी भएका थिए। कुल २२९ पदका लागि भएको निर्वाचनमा प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो। निर्वाचन समितिका अनुसार यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।
यसअघिको १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना सम्पन्न गर्न १२ दिन लागेको थियो। तर, यसपटक मतदाता संख्या उल्लेखनीय रूपमा बढे पनि करिब एक सातामै सम्पूर्ण मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
मतगणना सम्पन्न भएसँगै काँग्रेसको नयाँ केन्द्रीय नेतृत्वको औपचारिक घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउने कार्यक्रम भने दसैँलगत्तै आयोजना गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे