
काठमाडौं । विभिन्न १३ देशका लागि सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ः१५ बजे बस्नेछ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै, प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची रहेको छ।
प्रस्तावित १३ राजदूतविरुद्ध कुल सातवटा उजुरी परेको समितिले जनाएको छ। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर परेका छन् भने पाँचवटा उजुरी भने निश्चित व्यक्तिलाई लक्षित गरी दर्ता भएका छन्।
सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो।
त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका लागि सिफारिस गरिएको छ।
समितिले यसअघि प्रस्तावित राजदूतहरू नियुक्तिका लागि उपयुक्त नभएको लागेमा स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो। प्राप्त उजुरी र प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि प्रक्रिया अघि बढाउँदै समितिले सुनुवाइ गर्नेछ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिबाट अनुमोदित नामको नियुक्ति प्रक्रिया अघि बढ्नेछ। राजदूत नियुक्तिका लागि संसदीय सुनुवाइ संवैधानिक प्रक्रियाअन्तर्गतको महत्वपूर्ण चरण हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे