
काठमाडौं । अमेरिकाले गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जनाएको छ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा अमेरिकी सहयोगबारे जानकारी गराउँदै विपद्पछिको पुनरुत्थानमा नेपालसँगको साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी हुन्।
भेटका क्रममा बोल्डिनले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिएकी थिइन्। उनले बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।
कार्यवाहक राजदूत बोल्डिनले नेपालको लगानी तथा व्यावसायिक वातावरण सुधार गर्न आर्थिक सुधारका कार्यक्रम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी थिइन्। आर्थिक नीतिगत सुधारमार्फत विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुका साथै अमेरिकी कम्पनीहरूले निष्पक्ष रूपमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
उनले बाढीपछिको पुनर्निर्माणमा अमेरिकी प्रविधि तथा गुणस्तरीय पूर्वाधारसम्बन्धी समाधानको उपयोग गर्न सकिने वातावरण निर्माणमा समेत जोड दिएकी थिइन्। यसका लागि लगानीमैत्री नीतिगत व्यवस्था र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण आवश्यक रहेको उनले उल्लेख गरिन्।
भेटवार्तामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाका विषयमा पनि छलफल भएको थियो। मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई कानुनी जवाफदेहिताको दायरामा ल्याउने गरी आवश्यक विधायिकी प्रक्रिया अघि बढाउने सभामुख अर्यालको आश्वासनप्रति बोल्डिनले प्रशंसा व्यक्त गरेकी थिइन्।
अमेरिकाले विपद् व्यवस्थापन, आर्थिक सुधार, पूर्वाधार पुनर्निर्माण तथा मानव बेचबिखनविरुद्धको प्रयासमा नेपालसँगको सहकार्यलाई महत्त्व दिँदै आएको छ। सभामुखसँगको भेटमा कार्यवाहक राजदूत बोल्डिनले आपसी साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा अमेरिकी प्रतिबद्धता दोहोर्याएकी हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे