
काठमाडौँ । बडादशैँ मनाउन आफ्नो गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण राजधानी फर्किन थालेपछि काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकाहरूमा यात्रु तथा सवारीसाधनको चाप बढेको छ। दशैँको सार्वजनिक बिदा सकिन लागेसँगै नियमित कामकाजमा फर्किनेहरूको संख्या बढ्दा उपत्यका प्रवेश गर्ने सडकहरू व्यस्त बनेका हुन्।
काठमाडौं उपत्यका भित्रिने प्रमुख नाका कलंकी, नागढुंगा, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा यात्रुवाहक बस, माइक्रोबस र निजी सवारीसाधनको आवागमन उल्लेख्य रूपमा बढेको छ। विशेषगरी पश्चिमी नाका कलंकी–नागढुंगा खण्ड र पूर्वी नाका जगाती हुँदै कोटेश्वरतर्फ आउने सडकमा सवारीसाधनको चाप देखिएको छ।
विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न गाउँघर पुगेका सर्वसाधारण अब आफ्नो नियमित कर्मथलो फर्किन थालेका हुन्। आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय क्रमशः सञ्चालनमा आउने भएकाले राजधानी फर्किने यात्रुको चाप थप बढेको हो।
यात्रु तथा सवारीसाधनको चाप व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रमुख नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरेको जनाएको छ। सवारी आवागमनलाई सहज बनाउने, सडक जाम नियन्त्रण गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक व्यवस्थापन तथा सवारी जाँचलाई तीव्र पारिएको छ।
लामो बिदा मनाएर फर्किने यात्रुहरूले केही स्थानमा सडक जाम र तोकिएकोभन्दा बढी भाडा असुलिएको गुनासो गरेका छन्। यसैबीच, ट्राफिक प्रहरीले बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको र यात्रुका गुनासा सम्बोधन गर्न सहायता कक्षहरू सक्रिय राखिएको जनाएको छ।
दशैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब १५ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको थियो। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहे पनि नियमित कामकाजमा फर्किनुपर्ने भएकाले राजधानी भित्रिने क्रम जारी छ।
आगामी दुईदेखि तीन दिनसम्म काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकाहरूमा यात्रु तथा सवारीसाधनको चाप उच्च रहने अनुमान गरिएको छ। यात्रुलाई यात्रा गर्नुअघि सवारीसाधनको अवस्था बुझ्न, तोकिएको भाडादरअनुसार मात्र भाडा तिर्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे