
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा उद्धारकर्मीहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। बिहीबार राति १० बजेर ३३ मिनेटमा गएको भूकम्पपछि स्थानीय अधिकारीहरूले मानवीय क्षति र भौतिक संरचनामा भएको नोक्सानीको विवरण संकलन गरिरहेका छन्। प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा राहत उपलब्ध गराउने कार्य पनि जारी छ।
चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले प्रसारण गरेका दृश्यमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको देखिन्छ। त्यस्तै, सुपरमार्केटमा सामानहरू दराजबाट खसेका दृश्य पनि सार्वजनिक भएका छन्। उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र तिब्बतको क्षेत्रीय राजधानी ल्हासाबाट करिब ३९० किलोमिटर उत्तरपूर्वमा रहेको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको थियो। उक्त बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताएका छन्। भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ।
सीसीटीभीका अनुसार प्रभावित क्षेत्रमा तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारिएको छ। सिन्ह्वाका अनुसार उद्धार कार्यमा ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ कर्मचारी परिचालन गरिएको छ। क्षतिग्रस्त भवनभित्र फसेका हुन सक्ने मानिसको खोजी जारी रहँदा थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारीसमेत गरिएको छ।
चीन भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील मुलुकमध्ये एक हो। यसअघि सन् २०२५ जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२३ डिसेम्बरमा उत्तरपश्चिमी चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाले ज्यान गुमाएका थिए।
यसअघि सन् २०१४ मा दक्षिणपश्चिमी चीनको युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा भने करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए। तीमध्ये करिब पाँच हजार विद्यार्थी रहेको विवरण सार्वजनिक भएको थियो।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या तथा भौतिक क्षतिको विवरण थप अद्यावधिक हुन सक्ने अधिकारीहरूले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे