
काठमाडौं । भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा तीनै जना राजदूतले शपथ लिएका हुन्।
शपथ ग्रहण गर्नेमा भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्ण रहेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले राजदूत पदमा नियुक्त गरेका थिए। सरकारले विभिन्न देशका लागि १३ जनाको नाम राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। तर, संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो।
समितिबाट नाम अनुमोदन भएपछि सरकारले सम्बन्धित मुलुकमा राजदूत नियुक्तिका लागि आवश्यक सहमति (अग्रिमो) माग गर्दै नाम पठाएको थियो। तीमध्ये भारत, चीन र इजरायलबाट अग्रिमो प्राप्त भएका तीन जना राजदूतले सोमबार शपथ ग्रहण गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे