
काठमाडौं । सरकारले निर्माणाधीन जलविद्युत् आयोजनालाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न कम्तीमा ५० प्रतिशत भौतिक प्रगति अनिवार्य गर्ने गरी नयाँ मापदण्ड प्रस्ताव गरेको छ। सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
मस्यौदाअनुसार निर्माणाधीन जलविद्युत् आयोजनाको भौतिक प्रगति कम्तीमा ५० प्रतिशत पुगेको र सार्वजनिक निष्कासनका अन्य आवश्यक सर्त पूरा भएको अवस्थामा व्यापारिक विद्युत् उत्पादन सुरु नभएको कारणले मात्र आईपीओ निष्कासनको निवेदन अस्वीकार गर्न पाइने छैन। यसका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन प्रस्ताव गरिएको छ।
तर, आईपीओ निष्कासन गर्न आयोजनाको भौतिक प्रगति स्वतन्त्र प्राविधिक मूल्यांकनकर्ताबाट प्रमाणित भएको हुनुपर्नेछ। साथै, आयोजनाको कुल लागत, निर्माण सम्पन्न गर्न बाँकी काम, थप आवश्यक लगानी र त्यसका लागि उपलब्ध वित्तीय स्रोतको सुनिश्चिततासम्बन्धी विवरण पनि खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी, निर्माण कार्यमा हुन सक्ने ढिलाइ, लागत वृद्धि तथा आयोजनासँग सम्बन्धित प्रमुख जोखिमका विषय विवरणपत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए), उत्पादन अनुमतिपत्र तथा अन्य आवश्यक नियामकीय स्वीकृतिको अवस्थाबारे पनि लगानीकर्तालाई जानकारी गराउनुपर्ने मस्यौदामा उल्लेख छ।
आईपीओबाट संकलन हुने रकम कुन प्रयोजनमा खर्च गरिने हो भन्ने स्पष्ट योजना प्रस्तुत गर्नुपर्नेछ। सार्वजनिक निष्कासनबाट प्राप्त रकम आयोजनाको स्वीकृत उद्देश्यअनुसार नै उपयोग हुने सुनिश्चितता पनि गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यसबाहेक आयोजना निर्माण सम्पन्न हुने अनुमानित अवधि र व्यावसायिक विद्युत् उत्पादन सुरु हुन सक्ने सम्भावित समयसमेत विवरणपत्रमा खुलाउनुपर्नेछ। लगानीकर्ताको हित संरक्षणका लागि नेपाल धितोपत्र बोर्डले निर्धारण गरेका अन्य मापदण्डसमेत पूरा गर्नुपर्ने व्यवस्था मस्यौदामा समेटिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार अब निर्माणाधीन जलविद्युत् आयोजनाले ५० प्रतिशत भौतिक प्रगति पूरा गरेपछि व्यापारिक उत्पादन सुरु नभए पनि आवश्यक सर्त पूरा गरेर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सक्नेछन्। यसले निर्माणाधीन आयोजनालाई पुँजी बजारमार्फत लगानी जुटाउने अवसर प्रदान गर्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे